विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लिमेन्ट)को जथाभावी आयातले स्वदेशी उद्योग गम्भीर संकटमा परेको उद्योगीहरूले गुनासो गरेका छन् ।
स्वदेशमा करोडौँको लगानीमा सञ्चालनमा आएका उद्योगहरूले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिरहेको भन्दै सरकारी नीति तथा नियमनप्रति असन्तुष्टि जनाएका छन् । बारा–पर्सा औद्योगिक करिडोरमा रहेको जयश्री हेल्थकेयर उद्योगका सञ्चालक साकेत क्यालले विदेशबाट आयातित सप्लिमेन्टका कारण स्वदेशी उद्योग समस्यामा परेको बताएका छन् । “करिब ४० करोड रुपैयाँको लगानीमा उद्योग सञ्चालनमा ल्याएका हौं, तर राज्यको सहयोग र आवश्यक नीति नहुँदा टिक्नै मुस्किल भइरहेको छ,” क्यालले भने, “गुणस्तरहीन आयातित सप्लिमेन्टले उपभोक्ताको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्न सक्छ, त्यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ ।”
नियमन कमजोर, अवैध रूपमा भित्रिने सप्लिमेन्टको बिगबिगी
स्वास्थ्यमा प्रयोग गरिने डाइटरी सप्लिमेन्टको नियमन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने भए पनि आवश्यक जनशक्ति र प्रविधि अभावले विभाग आफैं अप्ठेरोमा परेको बताइएको छ । क्यालका अनुसार धेरै सप्लिमेन्ट स्वीकृति र दर्ता प्रक्रिया नपु¥याई बजारमा freely बिक्री हुने गरेका छन् ।
भन्सार महसुल र करमा भेदभाव
व्यवसायीहरूको गुनासो छ — औषधि उद्योगका लागि कच्चा पदार्थ र प्याकेजिङ सामग्रीमा एक प्रतिशत भन्सार महसुल लाग्ने भए पनि आहारपूरक सामग्रीमा भने २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धि कर (VAT) लगाइँदै आएको छ ।
उद्योगीहरूले औषधि उद्योगसरह नै आहारपूरक कच्चा पदार्थमा सहजीकरण हुनुपर्ने माग गरेका छन् ।
स्वदेशी उत्पादनले आयात प्रतिस्थापनमा भूमिका खेल्न सक्छ
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले स्वदेशी उद्योगलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति ल्याउन सरकारलाई आग्रह गरेका छन् । “कानुनी र प्रक्रियागत झन्झटले उद्योगी हैरान छन्,” उनले भने, “सरकारले आवश्यक सहजीकरण गर्दै आयात प्रतिस्थापन हुने खालको वातावरण बनाउनुपर्छ ।”
बारा जिल्लाको परवानीपुरमा अवस्थित जयश्री हेल्थकेयर उद्योगले हाल करिब ५० जनालाई रोजगारी दिइरहेको छ । ३१ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस उद्योगले करिब ४० प्रकारका आहारपूरक उत्पादन गरिरहेको छ । गत आर्थिक वर्षमा मात्रै उद्योगले करिब ६० लाख रुपैयाँ बराबरको डाइटरी सप्लिमेन्ट बिक्री गरेको जनाएको छ ।
उद्योग सञ्चालक क्यालका अनुसार, “गत वर्ष मात्रै नेपालमा करिब डेढ अर्ब रुपैयाँको आहारपूरक सामग्री आयात भयो । स्वदेशी उद्योगलाई प्रोत्साहन दिइयो भने यस्तो आयात प्रतिस्थापनमा ठुलो योगदान गर्न सकिन्छ ।”
भिडियाे सामाग्री