कक्षा १२ को परीक्षामा ३.९१ जिपिए ल्याउँदै मधेस प्रदेशमै उत्कृष्ट अंक ल्याउन सफल काजल मण्डलले चार्टर एकाउन्टेन्ट (सीए) बन्ने सपना देखेकी छिन् ।
सिमरास्थित सिमरा पब्लिक स्कुलकी छात्रा मण्डलले कठिन परिश्रम र समयको सदुपयोगले आफूले यो सफलता हासिल गर्न सकेको बताएकी छन् । "सुरुमा नतिजा देख्दा आफैँलाई विश्वास लागेको थिएन," उनले भनिन्, "तर मिहिनेत गरेकै कारण यति राम्रो अंक ल्याउन सकिएछ भन्ने अनुभूति भयो । आमा–बुबा र शिक्षकहरू निकै खुसी हुनु भयो ।"
परीक्षाको तयारीबारे उनले भनिन्, “पढाइको लागि तालिका बनाएर नियमित पढेँ। समयको कमी थियो, तर जे समय पाएकी थिएँ, त्यसलाई गम्भीरतापूर्वक उपयोग गरेँ ।” उत्कृष्ट नतिजापछि अबको योजनाबारे सोध्दा उनले स्नातक र स्नातकोत्तर शिक्षा पूरा गरी बैंकिङ क्षेत्रमा जाने योजना रहेको बताइन् । साथै, भविष्यमा चार्टर एकाउन्टेन्ट बन्ने इच्छा रहेको बताउँदै उनले भनिन्, “सुरुमा सीए बन्ने चाहना थियो, अवसर मिल्दै गए सिक्दै जान्छु ।”
मधेस प्रदेशबाट उच्च अंक ल्याउन गाह्रो हुने भन्ने आम धारणा रहे पनि त्यसको खण्डन गर्दै उनले भनिन्, “यदि राम्रोसंग पढियो भने कडाई जति भए पनि लेखेको अनुसार अंक आउँछ । यस्तो सोचाइ गलत रहेछ भन्ने प्रमाण मैले मेरो नतिजाबाट पाएको छु ।”
साथै, अन्य विद्यार्थी र अभिभावकलाई सन्देश दिँदै उनले अभिभावकले आफ्ना छोराछोरीलाई पढाइमा ध्यान दिनुपर्ने र विद्यालय व्यवस्थापनले समयमै सहयोग गर्नुपर्नेमा जोड दिइन् । पढ्ने वातावरण बनाउनमा स्थानीय सरकारको भूमिका उल्लेख गर्दै उनले भनिन्, “स्थानीय सरकारले पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति र आर्थिक सहयोग उपलब्ध गराउनुपर्छ ।
सबै विद्यालयले पढ्न चाहनेलाई प्रोत्साहन गर्नुपर्छ ।” अन्त्यमा विदेश जाने सोच पनि राखेकी काजलले आफूले सिक्ने अवसर पाएकी खण्डमा देशभित्र वा बाहिर जेसुकै अवसर आए पनि मेहनत गर्दै अघि बढ्ने अठोट व्यक्त गरिन् ।