प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने परम्परा छ ।
बडा दसैँको पहिलो दिन अर्थात् घटस्थापना आजकाे दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि अनुसार शक्तिस्वरुपा दुर्गा देवीको आह्वान गरी पूजा आरम्भ गरिन्छ ।
आज बिहानै नित्य कर्म सम्पन्न गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा जमरा रोपिन्छ । जमरामा जौको प्रयोग गरिन्छ, जसलाई दुर्गा देवीको प्रिय वस्तु मानिन्छ । यसरी रोपिएको जौलाई विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरी समृद्धिको प्रतीकको रूपमा पूजा गरिन्छ ।
नौ दिन नौ दुर्गाको पूजा
नवरात्रभर प्रत्येक दिन नौवटा दुर्गा देवीको पूजा गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यी नौ रुपलाई नवदुर्गा भनिन्छ ।
यस अवसरमा देशभरका शक्तिपीठहरूमा पूजा, पाठ, आराधना र दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
विजयादशमी र कोजाग्रत पूर्णिमा
विजया दशमी असोज १६ गते पर्न गएको छ । बडादसैँलाई धार्मिक मात्र नभई पारिवारिक पुनर्मिलनको पर्वको रूपमा समेत मनाइन्छ । देशभरका विद्यार्थी, रोजगारी वा अध्ययनका कारण घरबाहिर रहेका व्यक्तिहरू दसैँको अवसर पारेर आफ्ना परिवारसँग जोडिन्छन् । यस अवसरमा धेरै शैक्षिक संस्थाले विदा दिने गरेका छन् ।
यस दिन बिहान ०९:२३ बजे देवी विसर्जन गर्ने साइत रहेको छ भने टीकाप्रसाद ग्रहण गर्न ११:५३ बजेको साइत उत्तम मानिएको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म आफ्ना परिवार र मान्यजनबाट देवीको प्रसाद ग्रहण गर्ने परम्परा छ । पूर्णिमाको दिन धनधान्यको प्रतीक महालक्ष्मीको व्रत बसेर रात्री जाग्राम गरी पूजापाठ गर्ने चलन छ ।
यसरी बडादसैँ न केवल देवीको पूजा आराधनाको पर्व हो, तर पारिवारिक मेलमिलाप, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणको अवसर पनि हो ।