महोत्तरी | महोत्तरी जिल्लाको बलवा नगरपालिका–३, वदियास्थित रातु नदीमा आइतबार आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३, डाम्ही निवासी ३५ वर्षीय चन्दन ठाकुर रहेको स्थानीयवासीले जानकारी दिएका छन्। बाढी आएको समयमा झोलुङ्गे पुल तर्ने क्रममा उनी नदीमा खसेका थिए ।
ठाकुर साइकलमा ट्याक्टरको डिजेल ल्याउन पडौल गएको र डिजेल लिएर डाम्हीस्थित घर फर्किंदै गरेका थिए । उनलाई रातु नदीले बगाएको स्थानीय युवा राजकुमार साहले बताए। उत्तरवर्ती क्षेत्रमा परेको वर्षाका कारण रातु नदीमा बाढी आएको थियो ।
स्थानीयवासीहरूले पानीको बहाव धेरै भएकाले पुल पार नगर्न भने पनि ठाकुरले पिठ्युमा साइकल बोकेर पुल पार गर्ने प्रयास गर्दा अचानक लडेर बाढीमा परेका थिए । स्थानीय युवा साहका अनुसार, “पुलबाट साइकलसहित खसेका ठाकुरलाई उद्धार गर्न तत्काल प्रयास गरियो, तर पानीको तेज बहावका कारण उनलाई बचाउन सकिएन ।”
स्थानीयहरूले उद्धार प्रयास गरे पनि उनी मृत अवस्थामा भेटिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक नन्दकिशोर चौहानले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र सोमबार पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जानकारी दिनुभयो ।
रातु नदीमा आएको बाढीका कारण जिल्लाको बलवा र महोत्तरी गाउँपालिकाका कृषियोग्य खेतहरू डुवानमा परेका छन् । डुवान बढेपछि महोत्तरी गाउँपालिकाले सिँचाइको लागि रहेको सिडियो बाँध खोल्न बाध्य भएको थियो ।
महोत्तरी गाउँपालिकाका पूर्व अध्यक्ष सुनिल यादवले सिडियो बाँधमा पानीको बहाव बढी भएपछि बाँध खोलिएको र अहिले पानीको सतह घट्दै गएको जानकारी दिनुभयो ।