काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक गाडी बिइ–६ सार्वजनिक गरेको छ ।
अग्नि ग्रुपद्वारा नेपालमा आधिकारिक रूपमा भित्र्याइएको यो मोडल भारतमा सन् २०२५ को सुरुआतबाट बजारमा आएको हो र छोटो समयमै लोकप्रिय बन्दै गएको छ । महिन्द्राको बिइ–६ तीन संस्करणमा उपलब्ध छ — प्याक वान, प्याक टू र प्याक थ्री सेलेक्ट। यसको मूल्य ५७ लाखदेखि ६८ लाख रुपैयाँसम्म पर्छ भने एक्स्पोमा डेढ लाख रुपैयाँसम्मको छुट दिइएको थियो ।
नाइमा मोबिलिटी एक्स्पोमा महिन्द्राको 'बिइ–६' सार्वजनिक क्रममा गोल्डस्टार कम्पनीका विदुषी राणा ।
अग्नि ग्रुपका बजार प्रबन्धक सागर भट्टराईका अनुसार यी तीनै संस्करणमा ५९ किलोवाट–घन्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले ९९ किलोवाट (१३३ हर्सपावर) सम्मको शक्ति दिन सक्छ । फुल चार्जमा करिब ४०० किलोमिटर यात्रा गर्न सकिने यो गाडीलाई १४० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ प्रयोग गर्दा २० मिनेटमै २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सुरक्षाका लागि बिइ–६ मा अटोमेटिक स्पिड कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ड्राइभर ड्राउजिनेस डिटेक्सन, ३६० डिग्री क्यामरा भिजन, छवटा एयरब्याग तथा पार्किङ असिस्ट जस्ता प्रविधि समावेश छन् । गाडीको टर्निङ रेडियस ५ मिटर भएकाले सहरी क्षेत्रका साँघुरा बाटामा पनि सजिलै चलाउन सकिन्छ ।
भित्री डिजाइनमा १२.३ इन्चका तीनवटा स्क्रिन, २.२ वर्गमिटरको ‘इन्फिनिटी’ सिसाको छत, १६ वटा स्पिकर र पर्याप्त खुट्टा राख्ने स्थानका साथै करिब ८ इन्चको ग्राउन्ड क्लियरेन्सको सुविधा दिइएको छ ।
शक्ति, डिजाइन, सुरक्षात्मक सुविधा र छिटो चार्ज हुने क्षमताका कारण यो मोडलले भारतमा जस्तै नेपालमा पनि बजार विस्तार गर्ने अपेक्षा गरिएको छ ।
भिडियाे सामाग्री