जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा दुई समुदायबीच भड्किएको तनाव सर्वपक्षीय सहमति मार्फत अन्त्य भएको छ । सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, भदौ १४ र १५ गतेका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही गरिनेमा सबै पक्ष सहमत भएका छन् ।
साथै, कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्ने र त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिमाथि सूक्ष्म निगरानी गरी कानूनी प्रक्रिया अघि बढाइने सहमति पनि भएको छ ।
सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, र दुवै धार्मिक समुदायका अगुवाहरू सहभागी सर्वपक्षीय बैठकमा विगतमा तेलिया पोखरीको विवाद व्यवस्थापन गर्ने सहमति समेत गरिएको छ ।
गत शनिबार र आइतबार देवपुरा रुपैठामा तनावग्रस्त स्थिति सिर्जना भएको थियो। शनिबार गणेश पूजाको मूर्ति विसर्जन गरी फर्कँदा हिन्दू समुदायले झण्डाचोकको टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद सुरु भएको थियो। त्यसक्रममा दुवै समुदायबीच झडप हुँदा प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
आइतबार सर्वपक्षीय सहमतिअनुसार दुवै समुदायले झण्डा हटाउन खोज्दा पुन: तनाव बढेको थियो। त्यसक्रममा हिन्दू समुदायबाट ढुंगामुढा हुँदा प्रहरीसँग झडप भएको थियो। स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउन्ड गोली र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
यस क्रममा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया दुवै खुट्टाको घुँडामा गोली लागेर घाइते भएका थिए भने ढुंगामुढामा सात जना प्रहरी घाइते भएका थिए ।
सम्बन्धित समाचार
भिडियाे सामाग्री