सप्तरी | सप्तरीको राजविराजस्थित कारागारबाट करिब सयभन्दा बढी कैदीबन्दी फरार भएका छन् ।
जेलर गंगालाल योगीका अनुसार हाल कारागारमा ३९८ जना कैदीबन्दी रहेकामा तीमध्ये एक सयभन्दा बढी फरार भएको पुष्टि भएको छ । “आगो नियन्त्रणमा लिन तथा सुरक्षाका लागि नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन गरिएको छ,” जेलर योगीले जानकारी दिनुभयो ।
फरार कैदीबन्दीहरूको खोजी कार्य तीव्र पारिएको जेल प्रशासनले जनाएको छ । यसैबीच, दुई जना फरार कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
कारागारभित्र अहिले नेपाली सेनाले कडा सुरक्षा दिएको छ । आगलागीबाट कारागारको संरचना समेत क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जनाउनुभयो ।