जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नागरिकलाई सुरक्षित रहन र सतर्क रहन आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहले आज जारी विज्ञप्तिमा वर्षा र बाढीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा सुरक्षा निकाय नागरिकको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा सक्रिय र प्रतिबद्ध रहेको बताएका छन् ।
उनले प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई संवेदनशीलता बुझेर जिम्मेवारीपूर्वक सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिएको जानकारी दिए । मुख्यमन्त्री सिंहले भने, “नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेका छन् । कुनै पनि अमूल्य मानव जीवनको क्षति नहोस् भन्ने कामना गर्दछु ।”
मुख्यमन्त्री सिंहले थपे, “यो कठिन घडीमा प्रदेश सरकार तपाईंका साथ छ । हामी सबै मिलेर यो विपद् पार गर्नेछौं । एक अर्काको सहयोग र एकताको भावना हाम्रो सबैभन्दा ठूलो शक्ति हो। सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्। सुरक्षा, राहत र पुनःस्थापनाका प्रत्येक कदममा प्रदेश सरकार नागरिकसँगै छ ।”