रौतहट । लगातारको भारी वर्षाले रौतहट जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण राजपुर नगरपालिका–२ स्थित महेशपुर गाउँ पूरै जलमग्न बनेको छ ।
वडाध्यक्ष सोनालाल पण्डित कुम्हरका अनुसार गाउँका करिब ५० घरमा बाढीको पानी पसेको छ भने वडाभरका तीन सयभन्दा बढी घरमा क्षति पुगेको छ । पानीले धानबालीसहितका कृषियोग्य जमिनमा पनि ठूलो क्षति पुगेको उहाँले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सदरमुकाम गौरमा ३१५ मिलिमिटर वर्षा र गरुडा केन्द्रमा ३०४ मिलिमिटर वर्षा मापन गरिएको छ । अविरल वर्षाका कारण सदरमुकाम गौरसहित गरुडाको गेडहीगुठी लगायतका गाउँहरू जलमग्न भएका छन् ।
पानी परेसँगै बागमती, लालबकैया र झाझ नदीमा आएको बाढीले आसपासका बस्तीहरूमा डुबान र क्षति पुर्याएको छ । झाझ नदीमा आएको बाढीका कारण गौर–गंगापिपरा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहका अनुसार गाउँपालिकाका पाँच वटै वडामा रहेका करिब २५ प्रतिशत घर बाढीले क्षतिग्रस्त भएका छन् । दुर्गा गाउँपालिकाका अन्य बस्तीहरूमा पनि बाढीको असर देखिएको छ ।
यस्तै, राजपुर नगरपालिका–३ स्थित हुलाकी राजमार्गको लालबकैया नदी खण्डमा बाढी पसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
गुजरा नगरपालिका–८ मा रहेको लमहा खोलाको सतह बढेपछि बालचनपुर–जङ्गलसैया भित्री सडक बन्द भएको नगर प्रमुख शन्तलाल चौधरीले बताउनुभयो । वडा नं. ९ अमतवास्थित प्रतीक टोलका १० घरमा पनि पानी पसेको छ ।
यसैबीच, वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।