सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा एक युवकको शव फेला परेको छ । त्रियुगा नदीले बगाइरहेको अवस्थामा सोही नगरपालिकाको वडा नम्बर ५ पथरीका १८ वर्षीय दिलीप मुखियाको शव फेला परेको हो ।
आठ दिनदेखि बेपत्ता रहेका मुखियालाई शुक्रबार स्थानीयले नदीमा बगाइरहेको देखेपछि बाहिर निकालेर घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।
मानसिक सन्तुलन ठीक नभएका मुखिया असोज २३ गते त्रियुगा नदी किनारमा बाख्रा चराउन गएका थिए । तर, त्यसपछि घर नफर्किएकाले परिवारजनले प्रहरीमा खोजतलासको निवेदन दिएका थिए ।
खोजतलासका क्रममा मुखियाको शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । शवलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।