मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ ।
एमसिए–नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार, एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको सडकखण्डको स्तरोन्नतिका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग करिब २ करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।
यसैगरी, नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव ३६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरिएको छ ।
यी आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडकखण्ड स्तरोन्नति गरी १२ मिटर चौडा बनाइनेछ भने नारायणघाट–मुग्लिङ सडकखण्डमा आवधिक मर्मत कार्य गरिनेछ ।
आज आयोजित कार्यक्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धानखोलादेखि लमहीसम्मको सडकखण्ड स्तरोन्नति कार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।