नेपाल आयल निगमले अब पेट्रोलमा दश प्रतिशत (१०%) इथानोल मिसाउन पाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इथानोल मिश्रण सम्बन्धी निर्देशिका स्वीकृत गरेसँगै यो बाटो खुलेको हो ।
निगमले इथानोल मिसाउने योजना पहिलेदेखि बनाएको भए पनि अनुमति पाएको थिएन । अब मन्त्रिपरिषदबाट स्वीकृत कार्यविधि पाएपछि निगमले इथानोल माग प्रक्रिया अघि बढाउने कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले जानकारी दिनुभयो ।
“हामीलाई स्वीकृत कार्यविधि प्राप्त भइसकेको छैन, कार्यविधि पाएपछि सार्वजनिक सूचना निकालेर माग गर्छौं,” भट्टले बताउनुभयो ।
उनका अनुसार पेट्रोलियम पदार्थको प्रयोगले वातावरणमा परेको असर न्यूनीकरण गर्ने र वैदेशिक मुद्रा सञ्चितिमा सहयोग पुर्याउने उद्देश्यले इथानोल मिसाउने योजना अघि बढाइएको हो ।
“यो अहिलेको आवश्यकता हो। अन्तर्राष्ट्रिय अभ्यास अनुसार हामी पनि अघि बढेका हौं,” भट्टले थपे ।
अन्तर्राष्ट्रिय अभ्यास र इथानोलको स्रोत
भट्टका अनुसार भारत, ब्राजिल लगायतका देशले पेट्रोलमा १०–२५ प्रतिशतसम्म इथानोल मिसाइरहेका छन् । इथानोल अन्न वा अन्य वनस्पति 'फर्मेन्सन' गरेर बनाइने तरल पदार्थ हो ।
हाल नेपालमा चिनी उद्योगीहरूले मोलासिस (खुदो) प्रशोधन गरी इथानोल उत्पादन गर्दै आएका छन् । उक्त इथानोल बंगलादेश निर्यात हुँदै आएको थियो । अब निगमले इथानोल खरीद गरेसँगै उद्योगीहरूले पनि स्थानीय बजारमा आपूर्ति गर्न प्रतिबद्धता जनाएका छन् ।
कार्यकारी निर्देशक भट्टले भने, “स्वदेशीस्तरमा उत्पादित इथानोल प्रयोग हुने भएकाले अन्नको सट्टा खेर जाने वनस्पति (जस्तै मोलासिस, कसावा/सिमल तरूल) बाट उत्पादन गरिनेछ । खाद्य सुरक्षाका कारण चामल, मकै, गहुँबाट इथानोल उत्पादन गरिँदैन ।”
आवश्यक मात्रा र बजार व्यवस्थापन
निगमलाई पेट्रोलमा मिसाउन ९९.५ प्रतिशत शुद्धता भएको इथानोल चाहिन्छ । पेट्रोलमा १०% इथानोल मिसाउँदा दैनिक करिब दुई लाख लिटर इथानोल आवश्यक पर्ने भट्टले जानकारी दिनुभयो ।
इथानोल उत्पादन निगमले नगरी निजी क्षेत्र मार्फत आपूर्ति गरिने छ । बजार सुनिश्चित भएपछि उद्योगीहरू छिटो उत्पादन गर्ने चासो देखाउने अपेक्षा गरिएको छ ।
इथानोलको मूल्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोक्ने, गुणस्तर विभागले गुणस्तर निर्धारण गर्ने व्यवस्था रहेको छ । निगमले एक वर्षका लागि इथानोल माग गर्ने र मूल्य पनि एक वर्षका लागि तोकिने बताए ।
इथानोल मिसाइएपछि पेट्रोलको मूल्य घट्ने अनुमान गरिएको छ । तर मूल्य पेट्रोलियम पदार्थमा लगाइएको करको आधारमा निर्धारण हुने भएकोले सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न कर घटाएमा मूल्य स्वतः घट्ने भट्टले बताए ।
उद्योगीबाट लिएको इथानोल निगमले नै पेट्रोलमा मिसाएर पम्पमा पठाउनेछ । भट्टले उपभोक्तालाई विश्वस्त पार्दै भन्नुभयो, “इथानोल मिसाएको पेट्रोल प्रयोग गर्दा इञ्जिनमा कुनै समस्या हुँदैन ।”