राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का उम्मेदवारहरूसँग मतदाताहरूले जेन जी आन्दोलनका क्रममा भएको हत्याका घटनामा तत्कालीन सरकारमा रहेका मन्त्रीहरूमाथि कारबाही गराउन नबिर्सन आग्रह गरेका छन् ।
घरदैलो अभियानका क्रममा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्त, क्षेत्र नम्बर २ का सुशील कुमार कानु, क्षेत्र नम्बर ३ का रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का टेकबहादुर शाक्यसँग भेटिएका मतदाताले शान्तिपूर्ण आन्दोलनमा सहभागी स्कुले पोसाकमा रहेका बालबालिकामाथि गरिएको दमन र गोली प्रहारको घटनालाई स्मरण गराउँदै दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता मागेका हुन् ।
मतदाताहरूले कांग्रेस–एमाले नेतृत्वको तत्कालीन सरकारले प्रदर्शनकारीहरूमाथि आतंकवादी सरह व्यवहार गर्दै छाती र टाउकोमा लक्षित गोली प्रहार गराएको आरोप लगाउँदै त्यसमा संलग्न मन्त्री तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए । चुनावपछि बन्ने सरकारले कलिला बालबालिकाको ज्यान जाने गरी भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई सजाय दिनुपर्ने मतदाताको माग छ ।
रास्वापा उम्मेदवारहरूले मतदाताको आग्रहलाई सहर्ष स्वीकार गर्दै जेन जी आन्दोलनका ‘शहीद’हरूको योगदानलाई पार्टीले शिरोधार्य गर्ने बताएका छन् । उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र छानबिन आयोग गठन, पीडित परिवारलाई न्याय तथा राहत, र दोषी देखिने जोसुकैमाथि पनि कानुनी कारबाही गराउन प्रतिबद्धता व्यक्त गरेका छन् ।
रास्वापाका उम्मेदवारहरूका अनुसार परिवर्तन, सुशासन र जवाफदेहिता पार्टीको प्रमुख एजेन्डा रहेको भन्दै राज्यको शक्ति प्रयोग गरी नागरिकको ज्यान जाने अवस्था दोहोरिन नदिने नीति अवलम्बन गरिनेछ । सबैकाे मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शनको संरक्षणका लागि संसद्मा कानुन निर्माण र नीति सुधारमा सक्रिय भूमिका खेल्ने बताएका थिए ।
उक्त घटनाका बेला कांग्रेस–एमाले गठबन्धन सरकारमा पर्साबाट पालै पालाे चारजना मन्त्री बनेका थिए भने, तिनजना साेहि सरकारमा सहभागी रहेका थिए ।
सम्बन्धित समाचार

१९/१९ जना विद्यार्थीको नरशंहारमा पर्साका नेताहरू मौन