आँपको राजधानीको रूपमा परिचित सप्तरी जिल्लामा यस वर्ष आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।
यस जिल्लामा विगत वर्षहरूको तुलनामा यस वर्ष आँपका बोटमा बढी मञ्जरी लागेकोले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतका अनुसार गत वर्ष जिल्लामा ६४ हजार ३ सय ७३ मेट्रिकटन आँप उत्पादन भएको थियो भने यस वर्ष करिब ७५ हजार मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको छ ।
उनका अनुसार गत वर्ष आँपका लागि ‘अफ इयर’ (नफल्ने वर्ष) परेको थियो भने यस वर्ष ‘अन इयर’ (फल्ने वर्ष) परेकाले उत्पादनमा वृद्धि हुने देखिएको हो ।
जिल्लामा कुल ८ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा उल्लेखित क्षेत्रफलबाट ७५ हजार मेट्रिकटन आँप उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । भौगोलिक अवस्था र हावापानीका दृष्टिले सप्तरी आँप उत्पादनका लागि अत्यन्तै उपयुक्त मानिन्छ ।
मधेश प्रदेशमै सबैभन्दा बढी आँप उत्पादन हुने जिल्लाको रूपमा पनि सप्तरी परिचित छ । मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि राम्रो आँप उत्पादन हुने भए पनि स्वादका हिसाबले सप्तरीको आँप उत्कृष्ट मानिन्छ ।
यहाँ उत्पादन हुने मालदह, बम्बई, कलकतिया, अम्रपाली, मल्लिका र गुलाब खास जातका आँप स्वादिलो हुने भएकाले अन्य जिल्लामा समेत ती आँपको उच्च माग रहिआएको छ ।