गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य सुधन गुरूङले सांसदको तलबभत्ता नलिने घोषणा गरेका छन् ।
रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरूङले आफू तलब नखाई काम गर्न सक्षम रहेको उल्लेख गर्दै तलब आवश्यक नभएको बताएका हुन् ।
जेनजी आन्दोलनपछि आयोजित एक पत्रकार सम्मेलनमा गुरूङले नेताहरूलाई तलब दिन नहुने धारणा सार्वजनिक गरेका थिए। सोही प्रसङ्ग उल्लेख गर्दै पत्रकारहरूले सांसद निर्वाचित भइसकेपछि तलब लिने वा नलिने भन्ने प्रश्न गरेका थिए ।
जवाफमा गुरूङले भने, “म त तलब खान्नँ, किन तलब खानु र ?”
उनले थपे, “नखाने, किन तलब खानु जरूरी छ र ? हामी सक्षम छौँ ।”
मंगलबार होटल रोयल टुलिपमा सञ्चारकर्मीहरूले उनलाई सरकारी सवारीसाधन प्रयोगबारे पनि प्रश्न गरेका थिए। त्यसको जवाफमा उनले आफ्नै निजी गाडी प्रयोग गर्ने बताएका छन् ।
यसअघि जेनजी आन्दोलनपछि आयोजित पत्रकार सम्मेलनमा गुरूङले नेताहरूको सुविधा कटौती हुनुपर्ने बताएका थिए । उनले भनेका थिए, “नेताहरूले तलब सुविधा छाडिदिऊँ, नराखौँ । गाडीहरूको लाम लाग्ने सुविधा पनि हटाऔँ। अब नेपाली जनताको शासन हो ।”