नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयमा आज पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाइन्छ, कसैले घुस मागेमा त्यसलाई कुनै हालतमा छाडिँदैन ।”
गृहमन्त्री गुरुङले आफू नागरिकलाई प्रत्यक्ष परिणाम दिने उद्देश्यसहित मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै एकद्वार प्रणालीमार्फत छिटो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिनुभयो । कम बोल्ने र परिणाममुखी काम गर्ने आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ ।
“सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । सेवाग्राहीले १, २, ३ वा क, ख, ग कोठा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । कर्मचारी र सेवाग्राहीबीच अनावश्यक झन्झट नहोस्, यसैबाट सुशासन कायम गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
नवयुवाको जनादेश कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट भएका निर्णय सबैले आत्मसात् गर्नुपर्ने बताउँदै उहाँले सरकारका निर्णय कार्यान्वयन नगर्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो ।
निर्देशनका क्रममा गृहमन्त्री गुरुङले वर्तमान परिवर्तन नवयुवाको बलिदानबाट सम्भव भएको उल्लेख गर्दै शहीदहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गर्नुभएको थियो ।