राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरूमा कुनै समयसीमा नराखी जुनसुकै बेला अनुसन्धान गर्न सकिने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले वर्तमान कानूनमा रहेको पाँच बर्षको सीमा हटाएर जुनसुकै बेला भ्रष्टाचारको अनुसन्धान गर्न मिल्ने कानून बनाउनुपर्ने धारणा व्यक्त गरे ।
लामिछानेले भने, “भ्रष्टाचारको मुद्दामा कुनै पनि समयावधिको सीमा राख्नु हुँदैन । कुनै पनि बेला भ्रष्टाचार गरेको प्रमाणित भएमा अनुसन्धानको दायरामा ल्याउन सक्नुपर्छ।” यसले भ्रष्टाचारको न्यूनिकरणमा ठुलो योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।
गृहमन्त्रीका रूपमा अाफुले काम गर्दा भ्रष्टाचारविरुद्ध कठोर कदम उठाएको स्मरण गर्दै अहिले नेतृत्व सम्हालेका मन्त्रीहरूले पनि त्यही प्रतिबद्धता र इमान्दारीका साथ काम गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, लामिछानेले सार्वजनिक सवारीसाधनलाई प्रभावकारी बनाउनका लागि आफ्नो अनुभवलाई उपयोग गर्दै काम गरिरहेको बताए। उनले सार्वजनिक सवारी चढेको विषयलाई स्पष्ट पार्दै भने, “सार्वजनिक सवारीलाई प्रभावकारी बनाउनका लागि मैले आफैँ सार्वजनिक सवारी चढेर अनुभव संकलन गरिरहेको छु।”
लामिछानेको यो धारणा भ्रष्टाचारविरुद्धको लडाइँलाई थप सशक्त बनाउने दिशामा महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा उनले भ्रष्टाचारविरुद्धको कानून निर्माणमा सरकारलाई थप सक्रिय र दृढ हुन आग्रह गरे।