वैवाहिक संस्कारलाई पारिवारिक तथा सामाजिक मिलनको महत्वपूर्ण आधारका रूपमा लिइन्छ । कानुनी व्यवस्थाअनुसार २० वर्ष उमेर पूरा गरेका स्त्री र पुरुषले साक्षी राखेर विवाह गर्न सक्ने प्रावधान छ भने धार्मिक दृष्टिले विवाहलाई दुई आत्माबीचको पवित्र मिलन मानिन्छ ।
धार्मिक ग्रन्थहरू, विशेषगरी मनुस्मृतिमा विवाहलाई भाग्य, समय र संस्कारसँग जोडिएको पवित्र प्रक्रिया मानिएको छ । विभिन्न जाति, धर्म र समुदायअनुसार विवाहका परम्परा फरक–फरक भए पनि हिन्दू संस्कृतिमा शुभ साइत ( लगन ) मा विवाह गर्ने चलन रहँदै आएको छ ।
ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन मात्र शुभ लगन रहेको जनाइएको छ । महिनाअनुसार वैशाखमा ८ दिन, असारमा ७ दिन, मंसिरमा ८ दिन, माघमा ६ दिन र फाल्गुनमा सबैभन्दा बढी १२ दिन शुभ साइत परेको छ ।
वैशाख महिनामा ७, ८, २२, २३, २४, २५, ३० र ३१ गते विवाहका लगन रहेका छन् भने असारमा ९, १३, १४, १५, १७, १८ र २३ गते शुभ साइत रहेको छ । अन्य महिनाहरूमा पनि दिउँसो र रातिको विभिन्न समयमा लगन परेको जनाइएको छ ।
शास्त्रीय परम्पराअनुसार विवाहअघि बर–बधुको चिना मिलाउने प्रचलन रहेको छ, जसमा वर्ण, वश्य, तारा, योनी, मैत्री, गण, भकुट र नाडी गरी ३६ गुणमध्ये कम्तीमा १८ गुण मिल्नुलाई उपयुक्त मानिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार २०८३ सालमा केही समय बृहस्पति र शुक्र ग्रह अस्त भए पनि सो अवधिमा विवाहका लगन नपरेकाले विवाहमा प्रत्यक्ष असर नपर्ने बताएका छन् ।
समितिले विवाह मिति छनोट गर्दा ग्रह–नक्षत्र, तिथि, वार र लगनको आधारमा पञ्चाङ्गअनुसार निर्णय गर्न सुझाव दिएको छ ।