किर्ते नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएर फरार भएका वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह गयासपुर सिवानकाे साहेब दरबार "श्री सीताराम महायज्ञ" काे कलशयात्रा तथा जलयात्रामा सहभागी भएको दाबी सहित फाेटाे सार्वजनिक भएको छ ।
सार्वजनिक तस्बिरमा मेयर सिंह साहेब दरबारमा आयोजित “श्री सीताराम महायज्ञ” अन्तर्गतको कलशयात्रा तथा जलयात्रामा देखिएका छन् । मेयर सिंहविरुद्ध किर्ते नागरिकता प्रकरणमा पर्सा जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई पक्राउ गर्न विशेष टोली परिचालन गरेको जनाएको थियो । प्रहरीका अनुसार सम्भावित क्षेत्रहरूमा निगरानी बढाइएको छ भने खोजी कार्यलाई तीव्र बनाइएको छ । तर खोजी अभियान चलिरहेका बेला उनी भारतको धार्मिक कार्यक्रममा सहभागी भएको तस्बिर सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मेयर सिंहसहित चार जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरी सक्रिय रूपमा खोजीमा जुटेको हो । प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालतमा उपस्थित भएको सूचना पाएपछि विशेष टोली तत्काल अदालत पुगेको थियो । तर टोली पुग्नुअघि नै उनी त्यहाँबाट बाहिरिइसकेका थिए ।
प्रहरीले मेयर सिंह अदालतमा उपस्थित हुँदा सुरक्षा निकायलाई किन जानकारी नगराइएको, उनी कसको संरक्षणमा अदालत पुगे र कसरी त्यहाँबाट बाहिरिन सफल भए भन्ने विषयमा समेत अनुसन्धान थालेको जनाएको छ । अदालत परिसरबाटै उनी नाटकीय रूपमा बाहिरिएको विषयले गम्भीर प्रश्न उठाएको छ ।
जिल्ला अदालतमा पुगेका मेयर सिंहकाे बहस नभएपछि कानुनतः थुनामा पठाउनुपर्नेमा नाटकिय रूपमा अदालतबाटै फरार भएका छन् ।
उता, किर्ते नागरिकता जस्तो गम्भीर कसुरमा पक्राउ पुर्जी जारी भएका व्यक्तिको खोजी भइरहेका बेला उनी याेगीकाे भेषमा देखिएका छन् ।
सम्बन्धित समाचार