जिल्ला सरकारी वकिल कार्यालय पर्साले राजेशमान सिंह विरुद्ध जिल्ला अदालत पर्सामा चार वटा मुद्दा दायर गरेको छ ।
अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर जन्मदर्ता, नागरिकता तथा राहदानी लगायतका सरकारी कागजात बनाइएको आरोपमा मुद्दा दायर गरिएको प्रभाकर कुमार मल्लिकले बताउनु भएको छ । उहाँका अनुसार लिखत सम्बन्धि कसुर 2082-C1 -1083, अर्काे लिखत सम्बन्धि कसुर कै मुद्दा नम्बर 2082-C1-1084, झुठा विवरण पेस गरि नागरिकता बनाएकाे मुद्दा नम्बर 2082-C1-1085 त्यसैगरी झुठा विवरण पेश गरि नागरिकता र रहदानी बनाएको अर्को मुद्दा नम्बर 2082-C1-1086 दर्ता भएको हाे । सरकारी वकिलका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैया निवासी लियाकत अलिले २०८० साल माघ महिनामा जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । उजुरीमा मेयर सिंहले किर्ते जन्मदर्ता तयार गरी त्यसकै आधारमा नागरिकता, राहदानी तथा अन्य सरकारी कागजात अर्काकी छाेरीलाई बनाइदिएको आरोप लगाएको थियो ।
उजुरीमा महानगरका मेयर राजेशमान सिंहले रिता भट्टराइकी छाेरीलाई आफ्नाे भनी किर्ते जन्मदर्ता बनाएर नागरिकता र रहदानी बनाएकाे भनी उजुरी दिएका थिए । उक्त उजुरीपछि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान प्रक्रिया सुरु गरे पनि लामो समयसम्म अनुसन्धान प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन । उजुरी दर्ता भएको समयमा तत्कालीन प्रहरी उपरीक्षक कोमल शाह पर्सामा कार्यरत थिए । त्यसपछि क्रमशः कुमोद ढुंगेल, गौतम मिश्र र हालका प्रहरी उपरीक्षक सुदीप राज पाठकको कार्यकालसम्म पनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको थिएन् ।
प्रहरीले उजुरीमाथि आवश्यक अनुसन्धान नगरेको भन्दै उजुरी कर्ता उच्च अदालत वीरगञ्ज अस्थायी इजलास, जनकपुरमा रिट दायर गरेका थिए । अदालतले प्रहरी प्रशासनलाई तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको थियो । सोही आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले विस्तृत अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियाे ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मेयर सिंह विरुद्ध झुठा विवरण पेस गरि नागरिकता बनाएकाे र लिखत सम्बन्धि कसुर २/२ वटा मुद्दा दायर भएकाे छ । नागरिकता किर्ते सम्बन्धी मुद्दा २०८० साल पुसमा पत्रकार जियालाल साहले “सिधाकुरा” मार्फत खुलासा गरेका थिए । समाचार सार्वजनिक भएपछि विषयले व्यापक चर्चा पाएको थियो ।
तर, मुद्दामाथि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा पत्रकार साहमाथि नै मेयर राजेशमान सिंहले लिखित बेइज्जती, गाली बेइज्जती तथा साइबर अपराध सम्बन्धी मुद्दा दायर गरेका छन् । पत्रकार साह विगत डेढ वर्षदेखि विभिन्न मुद्दा खेप्दै आएका छन् ।
सरकारी वकिलको कार्यालयले दायर गरेकाे मुद्दाले अहिले वीरगञ्जको राजनीतिक वृत्तमा व्यापक तरंग सिर्जना गरेको छ ।
सम्बन्धित समाचार
सम्बन्धित भिडियाे सामाग्री