सीमावर्ती भारतीय बजार रक्सौलबाट क्वारेन्टिन जाँचबिनै ताजा तरकारी र फलफूल लुकीछिपी वीरगंज भित्रिने गरेको पाइएको छ । खुला सीमाको फाइदा उठाउँदै दैनिक साइकलमार्फत ठूलो मात्रामा कृषि उपज नेपाल भित्रिने गरेको हो ।
वीरगंजसँग सीमा जोडिएका पर्सा र बाराका विभिन्न खुला नाकाहरू विशेषगरी विश्रामपुर गाउँपालिका, नगवा, इनर्वा तथा छपकैयालगायत क्षेत्रबाट साइकलमार्फत ताजा तरकारी तथा फलफूल भित्रिने गरेको स्थानीयले बताएका छन् ।
दैनिक ‘क्यारिङ’ गर्ने साइकल चालकहरूले बिहानैदेखि भारतीय बजारबाट खरिद गरिएको तरकारी बिना कुनै क्वारेन्टिन परीक्षण वीरगन्ज बजारमा पुर्याउने गरेको पाइएको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अजित भुजेलले क्वारेन्टिन जाँचबिनै भित्रिने तरकारी तथा फलफूलले जनस्वास्थ्यमा जोखिम बढाउने भन्दै तत्काल नियन्त्रण आवश्यक रहेको बताएका छन् । उनका अनुसार, खुला सीमाको दुरुपयोग गर्दै विभिन्न समूहले ठूलो मात्रामा कृषि उपज भित्र्याइरहेका छन् ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी भोला दाहालले भन्सार प्रक्रिया पूरा गरी क्वारेन्टिन परीक्षण भएको तरकारी तथा फलफूल मात्र आयात गर्न पाइने स्पष्ट पारेका छन् । उनले अवैध रूपमा भित्रिएका सामग्री नियन्त्रणमा लिने बताउँदै अनुगमन कडा बनाइने जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीका अनुसार, पर्साभन्दा पनि बाराको विश्रामपुरसँग जोडिएको सीमावर्ती क्षेत्रबाट बढी मात्रामा क्वारेन्टिन जाँचबिनै तरकारी भित्रिने गरेको छ ।
स्थानीय प्रशासन र सुरक्षा निकायले खुला सीमाको दुरुपयोग रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।