मधेश सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान अन्तर्गत छात्राहरुलाई वितरणका लागि खरिद गरिएका हजारौँ साइकल पाँच वर्षदेखि गोदाममै थन्किँदा जीर्ण बन्दै गएका छन् ।
जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को गोदाममा राखिएका ती साइकल उचित संरक्षणको अभावमा खिया लाग्ने, टायर बिग्रिने तथा पार्टपुर्जा नष्ट हुने अवस्थामा पुगेका छन् । प्रदेश सरकारले आवश्यक प्रक्रिया पूरा नगर्दा साइकल समयमै वितरण हुन नसकेको स्थानीय स्रोतको भनाइ छ । लामो समयसम्म प्रयोगविहीन अवस्थामा राखिँदा सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै आलोचना भइरहेको छ । सरोकारवालाहरूले योजनाको कार्यान्वयनमा कमजोरी र जिम्मेवार निकायको बेवास्ताका कारण राज्यको स्रोत नोक्सान भइरहेको बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल गोदाममा ४ हजार ५५७ वटा साइकल मौज्दात छन् । ती साइकलको यकिन विवरण संकलन गर्न गत ४ फागुनमा उपसचिव विपीन ठाकुरको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको थियो । समितिले २०७५/०७६ यता खरिद, वितरण र मौज्दातको विवरण तयार गरी प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनअनुसार तीन चरणमा खरिद गरिएका साइकलमध्ये केही वितरण भए पनि प्रक्रिया पूरा नहुँदा ठूलो संख्या गोदाममै थन्किएको हो । तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरण गर्न साइकल खरिद गरेको थियो । तर २०७८ सालमा भ्रष्टाचार प्रकरणमा मुद्दा परेपछि कार्यक्रम प्रभावित बनेको थियो ।
विशेष अदालतले साइकल खरिदसम्बन्धी मुद्दामा गत ११ माघमा फैसला सुनाए पनि पूर्णपाठ अझै आइसकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेका फाइलहरू पनि फिर्ता नआउँदा बाँकी साइकल व्यवस्थापन र आपूर्तिकर्ताको भुक्तानीबारे अन्योल कायम रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा तेस्रो चरणअन्तर्गत १० हजार साइकल खरिद गरिएको थियो । तीमध्ये ३ हजार २६७ साइकल वितरण गरिएको र करिब २ करोड ९३ लाख रुपैयाँ भुक्तानी भएको छ भने करिब ५ करोड ६८ लाख रुपैयाँ भुक्तानी अझै बाँकी रहेको जनाइएको छ ।
गोदाममा थन्किएका साइकल धुलो र माकुराको जालोले ढाकिएका छन् । एक समय मधेश सरकारको पहिचान बनेको यो अभियान भ्रष्टाचार प्रकरणपछि विवादित बनेको थियो । अहिले कर्मचारीहरू पनि सावधानी अपनाउँदै साइकल व्यवस्थापनबारे स्पष्ट निर्णयको पर्खाइमा छन् ।