रौतहट जिल्ला का नागरिकहरूले अब राहदानी (पासपोर्ट) लिनका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने झन्झटबाट राहत पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबारदेखि नयाँ व्यवस्था लागू गर्दै सेवाग्राहीलाई पासपोर्ट कार्यालयमै बुझ्ने वा घरमै प्राप्त गर्ने विकल्प उपलब्ध गराएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल का अनुसार राहदानीका लागि आवेदन दिने क्रममा नै सेवाग्राहीले पासपोर्ट कहाँ बुझ्ने भन्ने छनोट गर्न सक्नेछन् । घरमै पासपोर्ट मगाउन चाहनेले आवेदनसँगै ५५ रुपैयाँ बराबरको हुलाक टिकट खरिद गरी आवश्यक कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
जिल्ला हुलाक कार्यालय रौतहट का प्रमुख देवनाथ यादव का अनुसार पासपोर्ट तयार भएपछि हुलाक सेवामार्फत सम्बन्धित व्यक्तिको घरमै पुर्याइनेछ । यसले विशेषगरी टाढा बसोबास गर्ने सेवाग्राहीलाई ठूलो सहजता दिने अपेक्षा गरिएको छ ।
यसअघि राहदानी लिन सेवाग्राहीले लामो लाइन बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने तथा अतिरिक्त खर्च व्यहोर्नुपर्ने समस्या थियो । नयाँ व्यवस्थासँगै समय, श्रम र खर्च बचत हुने तथा हुलाक सेवाको प्रभावकारिता समेत बढ्ने विश्वास गरिएको छ ।
चन्दन कुशवाहा ले यो व्यवस्थाले जिल्लाका हजारौँ सेवाग्राहीलाई राहत मिल्ने बताउँदै सम्बन्धित निकायप्रति आभार व्यक्त गरेका छन् ।