‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी, समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका–५ स्थित कुम्हालटोलमा नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा वडाध्यक्ष प्रदीप चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वडाध्यक्ष चौरसियाले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा शान्ति र सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, कुम्हालटोल र वडा प्रहरी कार्यालय, बिर्ताको संयुक्त आयोजनामा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख युवराज कटवालले मूनलाइट स्कूलका विद्यार्थी तथा स्थानीयवासीहरूले उठाएका ट्राफिक व्यवस्थापन, लागूऔषध दुर्व्यसन, सार्वजनिक सुरक्षा तथा समुदाय–प्रहरी सहकार्यसम्बन्धी विभिन्न जिज्ञासाको जवाफ दिएका थिए ।
वक्ताहरूले समुदायको सक्रिय सहभागिताविना समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न कठिन हुने उल्लेख गर्दै नागरिक र प्रहरीबीचको विश्वास तथा सहकार्य अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।
मूनलाइट स्कूलका संस्थापक श्याम केसीले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक सेवा केन्द्र कुम्हालटोलका श्रवणबहादुर रायमाझी, मार्टिन मोक्तान, अभिलाष गुप्ता, टोल सुधार समाज कुम्हालटोलका अध्यक्ष नन्दलाल राउत अहिर, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, वडा सदस्यहरू मनोज साह, सञ्जु दाहाल, सुशील वर्णवाल, रामु रायमाझीलगायतको उपस्थिति रहेको थियो ।