धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त आदेश जारी गरेको हो ।
अभियोगअनुसार नाला निर्माण तथा फोहोर मैला व्यवस्थापनका नाममा एकै निर्माण व्यवसायीको नाममा सेटिङ गरी तीन कम्पनीबाट टेन्डर भर्न लगाई कमिसन लिने काम भएको आरोप छ । आर्थिक वर्ष २०७७/०७८ मा बजार नाला तथा फोहोर मैला व्यवस्थापन शीर्षकअन्तर्गत बिना निर्णय बजार सेड निर्माण कार्य गोप्य रूपमा सञ्चालन गरिएको र एउटै निर्माण व्यवसायीबाट तीन वटा कम्पनीको नाममा टेन्डर भर्न लगाई प्रतिस्पर्धा बिना काम अघि बढाइएको अभियोग छ ।
अभियोगपत्रअनुसार सिमेन्ट र स्यान्ड बाहेक सबै आइटममा एउटै दररेट पेस गरी मिलेमतोमा ठेक्का दिइएको र गुणस्तरहीन बजार सेड निर्माण गरिएको उल्लेख छ । साथै कामभन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिई सरकारी बजेट हिनामिना गरिएको आरोप छ ।
गाउँपालिकाबाट नाला निर्माणका लागि ५० लाख र फोहोर मैला व्यवस्थापनका लागि ४२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । सेटिङमार्फत ठेक्का दिलाई करिब ३१ लाख ३४ हजार रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना तथा नोक्सानी भएको अभियोग छ ।
उक्त मुद्दामा पूर्वअध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवती देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, सब–इन्जिनियर छोटे मण्डल, नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सहलेखापाल विनोदकुमार मण्डल, सावनकुमार चौधरी र एकता कन्स्ट्रक्सन तथा इन्द्रेशकुमार सिंहसहित ९ जना प्रतिवादी छन् ।
विशेष अदालतले अब मुद्दासम्बन्धी प्रमाणहरू बुझ्ने प्रक्रिया अघि बढाउने आदेश दिएको छ ।