नेपाली कांग्रेसले सुरु गरेको सार्वजनिक बहस मञ्च ‘ग्रिन टेबल’को संयोजनको जिम्मेवारी युवा नेता कञ्चन झालाई प्रदान गरिएको छ ।
पार्टीअन्तर्गतको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले झालाई ग्रिन टेबल उपसमितिको संयोजकमा चयन गरेको हो । नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको प्रतिष्ठानले पार्टीको वैचारिक आधारलाई सुदृढ बनाउने उद्देश्यसहित विभिन्न विषयगत समिति तथा सार्वजनिक संवाद कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
नव-नियुक्त संयोजक झाका अनुसार ‘ग्रिन टेबल’ श्रृङ्खला नीतिगत विमर्श, वैचारिक बहस र सार्वजनिक अन्तरक्रियाको प्रभावकारी मञ्चका रूपमा विकास गरिनेछ । उनका अनुसार यस मञ्चमार्फत समसामयिक राष्ट्रिय मुद्दा, नीति निर्माण, सुशासन, लोकतान्त्रिक अभ्यास, सामाजिक न्याय तथा सार्वजनिक सरोकारका विषयमा नियमित छलफल र अन्तरक्रिया गरिनेछ ।
झाले ‘ग्रिन टेबल’ नामकरणको प्रतीकात्मक अर्थसमेत रहेको उल्लेख गरेका छन् । हरियो रंग नेपाली कांग्रेसको राजनीतिक पहिचान र ‘रूख’ चिन्हसँग सम्बन्धित रहेको भन्दै यसले देश, कृषि, वनजंगल तथा जनजीवनको प्रतिनिधित्व गर्ने सन्देश बोकेको उनले बताए ।
उनले युवापुस्ताको सक्रिय सहभागिता, विज्ञहरूको सुझाव तथा नागरिक समाजको आवाजलाई नीतिगत बहससँग जोड्दै लोकतान्त्रिक विमर्शलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमअन्तर्गत ग्रिन टेबल श्रृङ्खलामा प्रत्येक हप्ता एक पटक विज्ञहरू सम्मिलित अन्तरक्रिया गरिनेछ । ती छलफलबाट आउने निष्कर्षलाई पार्टीका नेता तथा जनप्रतिनिधिहरूको नियमित कार्यशालामार्फत परिष्कृत गर्दै सम्बन्धित विषयमा नीतिगत सुधारका लागि मार्गदर्शनका रूपमा प्रयोग गरिने प्रतिष्ठानले जनाएको छ ।