अमेरिकाले हर्मुज जलमार्ग आसपासका इरानी सैन्य तथा रणनीतिक लक्ष्यमा आक्रमण गरेपछि इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले जारी गरेको विज्ञप्तिअनुसार बहराइनस्थित अमेरिकी पाँचौँ फ्लिट मुख्यालय, कुवेतको अली अल सलेम एयरबेस तथा जोर्डनको अजराक एयरबेसलाई निशाना बनाएर आक्रमण गरिएको हो । आइआरजीसीले अली अल सलेममा ड्रोन तथा अजराकस्थित सैन्य अड्डामा लामो दूरीका क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।
आइआरजीसीले अमेरिकी सेनासँग सम्बन्धित २१ वटा लक्ष्यमा आक्रमण गरिएको र तीमध्ये चारवटा क्षेत्र पूर्ण रूपमा ध्वस्त भएको दाबी गरेको छ । जोर्डनस्थित अमेरिकी एफ–३५ लडाकु विमानको मर्मत तथा भण्डारण केन्द्रसमेत ध्वस्त पारिएको इरानी पक्षको भनाइ छ । साथै इरानको जाम सहरको आकाशमा अमेरिकी एमक्यू–९ ड्रोन खसालिएको दाबी पनि गरिएको छ ।
यसअघि मंगलबार बिहान अमेरिकी सेनाले हर्मुज जलमार्ग क्षेत्रमा रहेको केश्म टापु तथा इरानी तटवर्ती क्षेत्रका सैन्य पूर्वाधारमाथि आक्रमण गरेको थियो। अमेरिकाले आफ्नो अपाचे हेलिकप्टर खसालिएको घटनाको जवाफस्वरूप ती आक्रमणहरू गरिएको जनाएको छ । अमेरिकी सेनाले इरानका हवाई प्रतिरक्षा प्रणाली र रडार संरचनालाई लक्षित गर्दै कारबाही गरेको बताइएको छ ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी आक्रमणबाट सिरिक क्षेत्रमा रहेको एक दूरसञ्चार टावरमा क्षति पुगेको छ भने दुईवटा पानी भण्डारण ट्याङ्की पनि ध्वस्त भएका छन् । यता जोर्डन, कुवेत र बहराइनले भने अधिकांश मिसाइल तथा ड्रोनहरू आफ्नो हवाई प्रतिरक्षा प्रणालीले अवरोध गरेको दाबी गरेका छन् । प्रारम्भिक विवरणअनुसार कुनै अमेरिकी सैनिक हताहत भएको पुष्टि भएको छैन ।
घटनापछि मध्यपूर्वमा तनाव थप चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक–दुई दिनभित्र इरानसँग शान्ति सम्झौता हुन सक्ने बताएका भए पनि पछिल्ला सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको विश्लेषण गरिएको छ ।