लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठूलो क्षति पुगेको छ ।
कालीकोट खण्डअन्तर्गत सडकको एक भाग भासिएर कर्णाली नदीतर्फ खसेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकको पर्खाल, ग्याबिन जाली तथा अन्य संरचनामा क्षति पुगेको छ भने सडकको ठूलो हिस्सा नदीतर्फ बगेपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
स्थानीय प्रेम चौलागाईका अनुसार केही दिनदेखिको निरन्तर वर्षाले सडक कमजोर बनेको थियो । मङ्गलबार राति आएको बाढी र पहिरोले सडकको महत्वपूर्ण भाग भत्काएपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, बिरामी ओसारपसार तथा स्थानीय जनजीवन प्रभावित बनेको छ । वर्षाका कारण क्षेत्रका ग्रामीण सडकसमेत बन्द भएका छन् । सडक डिभिजन कार्यालयले क्षतिको विवरण संकलन गरी मर्मत तथा पुनर्निर्माणको तयारी थालेको जनाएको छ । तर निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन चुनौती रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार सडक खुलाउन स्काभेटर परिचालन गरिएको छ । “धेरै स्थानमा क्षति पुगेकाले सडक खुल्ने समय यकिन गर्न सकिने अवस्था छैन, तर मर्मत कार्य जारी छ,” उहाँले बताउनुभयो ।
स्थानीयवासीले रणनीतिक महत्व बोकेको कर्णाली करिडोरमा बारम्बार हुने पहिरो र कटान नियन्त्रणका लागि दीर्घकालीन संरक्षण योजना लागू गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले सडकको नियमित मर्मत–सम्भारमा सरकार गम्भीर नबनेको आरोप समेत लगाएका छन् ।