राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला कार्यसमितिको बैठकबाट महत्वपूर्ण संगठनात्मक निर्णय गरेको छ । शनिबार जिल्ला सभापति हरि पन्तको अध्यक्षतामा बसेको बैठकले तुलसा पौडेल अधिकारीलाई जिल्ला कोषाध्यक्ष तथा कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
जिल्ला सचिव सुदिश प्रजापतिले जारी गरेको निर्णयअनुसार तुलसा पौडेल अधिकारीलाई जिल्ला कोषाध्यक्षमा मनोनित गरिएको छ । साथै, उनलाई जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारीसमेत दिइएको छ ।
बैठकले जिल्ला अनुशासन आयोगबाहेक जिल्लामा रहेका सम्पूर्ण विभागहरू खारेज गरी पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । पार्टी संगठनलाई थप प्रभावकारी, व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले विभागहरूको पुनर्गठन गर्न लागिएको जनाइएको छ ।
रास्वपा पर्साको जिल्ला अधिवेशनमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेकी तुलसा पौडेल अधिकारीले अब जिल्ला कोषाध्यक्षसँगै कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हाल्ने भएकी छन् ।