राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी केन्द्रीय समितिमा पदाधिकारी पदमा उम्मेदवारी दिने संकेत गरेका छन् । चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा उनले पदाधिकारीमा आफूले दाबी गर्न सक्ने बताएका हुन् ।
पत्रकारहरूसँगको कुराकानीमा झाले पार्टी स्थापनादेखि हालसम्म आफूले निर्वाह गरेको भूमिकाका आधारमा पदाधिकारीमा दाबी स्वाभाविक हुने बताए । उनले निकटस्थहरूसँग महामन्त्री पदमा इच्छा व्यक्त गरेको समेत बुझिएको छ ।
महाधिवेशनको बन्द सत्रमा ढिलाइ भएको विषयमा उनले पार्टीले निकै छोटो तयारी समयमै महाधिवेशन आयोजना गरेकाले केही व्यवस्थापकीय चुनौती देखिएको स्वीकार गरे ।
उनका अनुसार पार्टी स्थापनाको छोटो अवधिमै वडा तहदेखि महाधिवेशनसम्मको प्रक्रिया अघि बढाइएको छ । केही व्यवस्थापकीय कमजोरी भए पनि त्यसलाई राजनीतिक दलका रूपमा स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए ।
झाले महाधिवेशनमा देखिएको ढिलाइलाई ठूलो समस्या नभई समय व्यवस्थापनको चुनौतीका रूपमा बुझ्न आग्रह गरेका छन् ।