मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी पनि भन्ने गरिन्छ ।
देशभर उत्पादन हुने कुल आँपमध्ये तीन चौथाइभन्दा बढी आँप यही प्रदेशमा उत्पादन हुने भएकाले यो उपाधि दिइएको हो । यहाँ बम्बई, माल्दा, दसहरी, कृष्णभोग, आम्रपाली, कलकतिया, जर्दालुलगायत ४० भन्दा बढी जातका आँप उत्पादन हुँदै आएका छन् । उर्वर भूमि, अनुकूल हावापानी र किसानको मेहनतका कारण मधेश प्रदेश नेपालकै सबैभन्दा ठूलो आँप उत्पादन केन्द्र बनेको छ । यहाँका किसान व्यावसायिक तथा परम्परागत दुवै तरिकाले आँप खेती गर्दै आएका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशको तथ्याङ्क अनुसार नेपालभर ४२ हजार ७७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । यसबाट वार्षिक ५ लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । त्यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ, जहाँबाट वार्षिक ३ लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ ।
उत्पादनका हिसाबले सिराहा जिल्ला अग्रस्थानमा रहेको छ, जहाँ वार्षिक १ लाख ४ हजार ६७६ मेट्रिक टन आँप उत्पादन हुन्छ । त्यसपछि सप्तरीमा ९६ हजार मेट्रिक टन, रौतहटमा ६२ हजार ५६१, सर्लाहीमा ३९ हजार ११८, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, बारामा १९ हजार २६९ र पर्सामा ४ हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । तथ्याङ्क अनुसार देशको कुल आँप उत्पादनमध्ये ७७.१ प्रतिशत योगदान मधेश प्रदेशको रहेको छ ।
धनुषाको बटेश्वरका युवा फुलगेन महतोका अनुसार प्रदेश आँप उत्पादनको केन्द्र भए पनि बजारीकरणको समस्या प्रमुख चुनौती बनेको छ । किसानहरू अहिले प्रतिकिलो ३० देखि ५० रुपैयाँमै आँप बिक्री गर्न बाध्य छन् ।
उहाँले यही समस्यालाई ध्यानमा राखेर विगत तीन वर्षदेखि बटेश्वरस्थित आँप बगैँचामा आँप मेला–महोत्सव आयोजना गर्दै आएको बताउनुभयो । उहाँका अनुसार मधेशका हजारौँ परिवार प्रत्यक्ष रूपमा आँप खेतीमा संलग्न छन् । पछिल्ला वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू पनि आधुनिक बगैँचा स्थापना गर्दै आँप खेतीतर्फ आकर्षित भइरहेका छन् । एकपटक रोपेपछि दशकौँसम्म उत्पादन दिने भएकाले यसलाई दीर्घकालीन लगानीका रूपमा लिन थालिएको छ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ, मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले स्थानीय आँपको व्यवस्थित बजारीकरणका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार आँप भण्डारणको व्यवस्था गर्न सके सिजनपछि पनि बिक्री गरी किसानले राम्रो मूल्य पाउन सक्छन् । उहाँले भन्नुभयो, “स्थानीय आँपलाई भण्डारण गरेर सिजनपछि बिक्री गर्ने वातावरण बनाउन सकियो भने किसानले राम्रो मूल्य पाउन सक्छन् ।”
उहाँका अनुसार आँपबाट अचार, अमोट, सुकुटी, जाम, जुस, स्क्वासलगायत परिकारको व्यावसायिक उत्पादन विस्तार गर्न आवश्यक छ । साथै आँपलाई पर्यटनसँग जोडेर ‘म्याङ्गो टुरिजम’ को अवधारणा विकास गर्न सकिने सम्भावना पनि रहेको उहाँले बताउनुभयो । मिथिला संस्कृति, स्थानीय परिकार र आँपजन्य उत्पादनलाई एकीकृत गरी पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ ।
नेपाल उद्योग परिसङ्घ, मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले कुनै समय घरआँगनमा सीमित आँप आज मधेशको आर्थिक सम्भावनाको महत्वपूर्ण आधार बनेको बताउनुभयो । उहाँका अनुसार प्रशोधन, भण्डारण, ब्रान्डिङ र निर्यातलाई व्यवस्थित गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकारको भूमिका आवश्यक छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. सञ्जयकुमार यादवले आँप उत्पादन र बजार विस्तार मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँका अनुसार प्रशोधन केन्द्र स्थापना, भण्डारण व्यवस्था तथा आँपजन्य उत्पादनलाई निर्यातमुखी बनाउने योजना अघि बढाइएको छ । उहाँले भन्नुभयो, “आँप उत्पादनलाई अझ प्रविधिमैत्री, आधुनिक र निर्यातमुखी बनाउने योजना छ। यसले मधेश प्रदेशको आर्थिक समृद्धिमा ठूलो टेवा पुर्याउने छ ।”
उहाँले मधेशको माटो र हावापानी आँप खेतीका लागि अत्यन्त उपयुक्त रहेको उल्लेख गर्दै देशभर उत्पादन हुने आँपमध्ये ७७ प्रतिशतभन्दा बढी योगदान मधेश प्रदेशको रहेको जानकारी दिनुभयो ।