आँप उत्पादनका लागि देशकै प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा चालु आर्थिक वर्षमा आँप उत्पादन उल्लेखनीय रूपमा घटेको छ ।
खेती गरिएको क्षेत्रफल विस्तार भए पनि प्रतिकूल मौसम, हावाहुरी तथा रोग–किराको प्रकोपका कारण उत्पादनमा गिरावट आएको सरकारी तथ्याङ्कले देखाएको छ । कृषि विकास निर्देशनालय, नक्टाझिज (धनुषा) का अनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रमा आँप खेती गरिएको छ। प्रतिहेक्टर औसत ९.०४ मेट्रिक टन उत्पादकत्वका आधारमा यस वर्ष कुल २ लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको छ ।
यसअघि आर्थिक वर्ष २०८१/०८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रमा आँप खेती हुँदा प्रतिहेक्टर औसत ११.४३ मेट्रिक टन उत्पादन भएको थियो । त्यस वर्ष प्रदेशभर कुल ३ लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । यसरी हेर्दा यस वर्ष खेती क्षेत्रफल २ हजार ६९४ हेक्टरले बढे पनि उत्पादन भने ४६ हजार ८७८ मेट्रिक टनले घटेको देखिन्छ ।
निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार फूल फुल्ने र फल लाग्ने महत्वपूर्ण समयमा आएको हावाहुरी, साथै रोग–किराको आक्रमणले उत्पादनमा प्रत्यक्ष असर पारेको हो । उहाँले उन्नत जातका बिरुवा रोपाइँ, बगैंचा व्यवस्थापन र सिँचाइ सुविधामा सुधार भए पनि प्राकृतिक जोखिम नियन्त्रण प्रभावकारी नहुँदा उत्पादन अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो ।
तथ्याङ्कअनुसार सिरहा र सप्तरी मधेश प्रदेशका प्रमुख आँप उत्पादक जिल्ला हुन् । यस वर्ष उत्पादकत्वका आधारमा बारा अग्रस्थानमा रहेको छ, जहाँ प्रतिहेक्टर १३.८० मेट्रिक टन उत्पादन भएको छ । सबैभन्दा कम उत्पादकत्व सर्लाहीमा देखिएको छ, जहाँ प्रतिहेक्टर ६.२० मेट्रिक टन मात्र उत्पादन भएको छ ।
जिल्लागत विवरणअनुसार धनुषामा ३ हजार ३२४ हेक्टरबाट २३ हजार २७५ मेट्रिक टन, महोत्तरीमा ३ हजार हेक्टरबाट २९ हजार ७०० मेट्रिक टन, सप्तरीमा ८ हजार ३८७ हेक्टरबाट ७५ हजार ५०० मेट्रिक टन तथा सिरहामा ९ हजार ५० हेक्टरबाट ७२ हजार ४०० मेट्रिक टन आँप उत्पादन भएको छ।
त्यस्तै रौतहटमा ४ हजार ७७ हेक्टरबाट ५४ हजार ३७८ मेट्रिक टन, बारामा १ हजार ४९५ हेक्टरबाट २० हजार ६३१ मेट्रिक टन, सर्लाहीमा २ हजार १०० हेक्टरबाट १३ हजार मेट्रिक टन तथा पर्सामा ४४७ हेक्टर क्षेत्रफलबाट ५ हजार ९६३ मेट्रिक टन आँप उत्पादन भएको निर्देशनालयले जनाएको छ ।
मधेश प्रदेशमा बम्बई, माल्दह, कृष्णभोग, दशहरी, जर्दा, अम्रपाली, बिजु, गुलाबखास र कलकतिया लगायतका विभिन्न जातका आँप व्यावसायिक रूपमा खेती हुँदै आएका छन् । कृषि विज्ञहरूले उत्पादन घट्नुको प्रमुख कारण मौसमीय अस्थिरता र रोग–किरा नियन्त्रणमा कमजोरी भएको भन्दै आधुनिक बगैंचा व्यवस्थापन, प्रभावकारी रोग नियन्त्रण र सिँचाइ प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
आँप मधेश प्रदेशको प्रमुख फलफूल बाली हो, जसको आपूर्ति काठमाडौँ उपत्यका सहित देशका विभिन्न सहरहरूमा हुने गर्छ । वैशाखदेखि असारसम्म बजारमा आउने आँपमध्ये सुरुमा बम्बई र पछि माल्दह तथा अन्य जातका आँप बिक्रीमा आउँछन् ।
फलफूल तथा तरकारी व्यवसायी संघ जनकपुरधामका उपाध्यक्ष रमन झाका अनुसार यस वर्ष धार्मिक तथा सामाजिक गतिविधि घट्दा आँपको माग पनि प्रभावित भएको छ । जेठ महिनामा पुरुषोत्तम मास परेकाले विवाह, व्रतबन्ध तथा अन्य कार्यक्रम कम हुँदा खपत घटेको उहाँको भनाइ छ ।
व्यवसायी भुवनेश्वर साहका अनुसार आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घटेपछि खरिद पनि घटेको छ । पहिले १०–२० किलोसम्म आँप किन्ने ग्राहक अहिले १–२ किलोमै सीमित भएका छन् । आँप व्यवसायी मुकेश साहका अनुसार किसानबाट ४०–५० रुपैयाँ प्रतिकिलोमा खरिद गरिएको आँप थोक बजारमा ६०–६५ रुपैयाँ र खुद्रा बजारमा ८०–१०० रुपैयाँसम्म बिक्री भइरहेको छ । तर बिक्री नहुँदा कतिपय व्यापारीले गोदाममै आँप कुहिने अवस्था समेत भोग्नुपरेको छ ।
कृषि तथा व्यवसाय क्षेत्रका सरोकारवालाहरूले रोग नियन्त्रण, सिँचाइ विस्तार, प्राविधिक सहयोग र किसानलाई अनुदान बढाउन सके आगामी वर्ष उत्पादन सुधार गर्न सकिने बताएका छन् ।