नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै वीरगंजका अधिकांश निजी पेट्रोल पम्पले इन्धन सकिएको भन्दै बिक्री बन्द गरेपछि स्थानीय प्रशासन सक्रिय भएको छ ।
कृत्रिम अभाव सिर्जना गरिएको जनगुनासोपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल कै नेतृत्वमा प्रहरीसहितको टोलीले पेट्रोल पम्पहरूमा छड्के अनुगमन गरेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको थियो ।
मूल्य घटेको भोलिपल्ट अर्थात् अाज बिहानदेखि वीरगंजका अधिकांश निजी पेट्रोल पम्पहरूले पेट्रोल र डिजेल सकिएको भन्दै बिक्री बन्द गरेका थिए। पम्पहरूमा इन्धन उपलब्ध नभएको सूचना टाँसिएपछि कृत्रिम अभाव सिर्जना गरिएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएको थियो । सोही गुनासोका आधारमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रहरीसहितको टोलीले बुधबार दिउँसो वीरगञ्जका विभिन्न पेट्रोल पम्पमा छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा १२ वटा पेट्रोल पम्पमध्ये मनोज आयल र दुर्गा आयल स्टोर्स गरी दुईवटा पम्पमा मात्रै पेट्रोल र डिजेल बिक्री भइरहेको भेटिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । बाँकी १० वटा पेट्रोल पम्प सञ्चालकले नेपाल आयल निगमको डिपोबाट मागअनुसार समयमै इन्धन उपलब्ध नभएको र मौज्दात सकिएकाले बिक्री बन्द गर्नुपरेको जवाफ दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी दाहालले आगामी दिनमा मौज्दात सकिन नदिने गरी इन्धन व्यवस्थापन गर्न पम्प सञ्चालकलाई निर्देशन दिइएको बताए । साथै, नेपाल आयल निगमबाट नियमित आपूर्ति भइरहेका बेला उपभोक्तालाई सास्ती हुने गरी कृत्रिम अभाव सिर्जना नगर्न पनि चेतावनी दिइएको उनले जानकारी दिए ।
प्रशासनले उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।