भगवान् शिवको आराधना र उपासना गरिने पवित्र साउन महिना नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा सरसफाइ, रङरोगन तथा साजसज्जाको काम तीव्र पारिएको छ ।
‘मधेसको कैलाश’ भनेर चिनिने यस मन्दिर परिसर तथा वरपरका चुरेथुम्कामा रहेका रुखहरूलाई विभिन्न रङले कलात्मक रूपमा सजाइँदै छ । साउने मेलामा पुग्ने श्रद्धालु भक्तजनलाई विशेष अनुभूति दिलाउने उद्देश्यले यस वर्ष साजसज्जा, रङरोगन र सरसफाइका कामलाई विशेष प्राथमिकता दिइएको मन्दिर संरक्षण समितिले जनाएको छ । सौरमास र चन्द्रमासको गणनाअनुसार हरेक वर्ष साउनभरि यहाँ धार्मिक मेला लाग्ने परम्परा छ । यस वर्ष भने साउन १ गतेदेखि सुरु भएको मेला साउन पूर्णिमा अर्थात् भदौ १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम यादवले वर्षभरि नै देशका विभिन्न स्थानबाट श्रद्धालु आउने गरे पनि साउन महिनाको विशेष महत्त्व रहेको बताएका छन् । उनका अनुसार साउनका सोमबारहरू विशेष धार्मिक आस्थाका दिन मानिने भएकाले मेलालाई व्यवस्थित र आकर्षक बनाउन पहिलेदेखि नै तयारी सुरु गरिएको हो ।
चुरे पहाडी थुम्कामा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरलाई भगवान् शिवको बासस्थान कैलाशसँग जोडेर हेरिने गरिन्छ । पूर्वीय दर्शन परम्पराका जानकार तथा स्थानीय बासिन्दा यतिराज काफ्लेका अनुसार यो स्थान त्रेतायुगमा मिथिलाका राजा शिरध्वज जनक र द्वापर युगमा अर्जुनले तपस्या गरेको स्थानका रूपमा पनि परिचित छ । प्राचीन शिवलिङ्गको अस्तित्व र धार्मिक मान्यताका कारण यस स्थानलाई ‘मधेसको कैलाश’ भनिने गरिएको छ ।
भारतको देवघरस्थित वैद्यनाथ धामलाई ‘बाबाधाम’ भनिएझैँ टुटेश्वरनाथलाई पनि ‘नेपालको बाबाधाम’का रूपमा चिनिने गरिएको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वर चोकबाट करिब आठ किलोमिटर वन क्षेत्र पार गरेर मन्दिर पुग्न सकिन्छ । टुटेश्वरनाथ महादेवको उद्भवबारे स्नातकोत्तर तहमा शोध गरेका पत्रकार राजकरण महतोका अनुसार माण्डवीगङ्गा नदीको किनार, चारैतिरको सघन वन, पहाडी शृङ्खला र सदाबहार सुगन्धित फूलको सुवासले यहाँ पुग्ने जो–कोहीलाई विशेष आध्यात्मिक अनुभूति दिलाउँछ ।
उनले त्रेता र द्वापर युगसँग जोडिएका ऐतिहासिक तथा धार्मिक पक्षबारे विस्तृत अध्ययन र प्रचार–प्रसार हुन नसकेको उल्लेख गर्दै तीनै तहका सरकारबीच समन्वय गरी काम अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । स्थानीयको पहलमा २०५२ सालदेखि मन्दिर संरक्षणको अभियान सुरु भएको थियो । पछिल्लो समय मधेस प्रदेश सरकारले पनि यहाँको पूर्वाधार विकास तथा संरक्षणमा सहयोग पुर्याउँदै आएको छ । तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंह र पर्यटनमन्त्री सकिल मियाँले समेत मन्दिर क्षेत्रको अवलोकन गरेका थिए ।
हाल यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास जारी छ । स्थानीय समुदायले मन्दिर संरक्षण र प्रचार–प्रसारका लागि निरन्तर पहल गरिरहेको भए पनि राज्यको थप ध्यान आवश्यक रहेको उनीहरूको भनाइ छ । दर्शनका लागि हेटौँडाबाट पुग्नुभएकी तुलसा काफ्ले न्यौपानेले टुटेश्वरनाथ आस्था र विश्वासको केन्द्र भएकाले राज्यको सक्रिय उपस्थितिले श्रद्धालुमा थप भरोसा जगाउने बताइन ।
टुटेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रि र बालाचतुर्दशीका अवसरमा पनि विशेष मेला लाग्ने गर्दछ । यहाँ बागमती र कोशी प्रदेशका साथै भारतका बिहार, झारखण्ड र उत्तर प्रदेशबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् । मन्दिर परिसर वरपर असङ्ख्य सर्प देखिए पनि अहिलेसम्म सर्पदंशका कुनै घटना नभएको मन्दिरका पुजारी सिरी रायले जानकारी दिनुभयो। गौशाला–४ रजखोरका ७५ वर्षीय वासुदेव महतोले महादेवको दर्शन र प्रार्थनाले मनोकाङ्क्षा पूरा हुने, सद्भाव बढ्ने र शान्तिको अनुभूति प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
महतो विगत २०४० सालदेखि माण्डवीगङ्गा, स्वर्णमति र वरुणवती नदीको त्रिवेणी सङ्गमबाट जल बोकेर करिब १८ किलोमिटरको कठिन यात्रा पार गर्दै शिवलिङ्गमा जल चढाउँदै आएको छ । उनले मन्दिर क्षेत्रको संरक्षण र विकासका लागि स्थानीयको चासोलाई राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।