राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज (शनिबार) र भोलि (आइतबार) कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ ।
त्यसैगरी, देशका हिमाली तथा पहाडी भूभाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्र तथा मधेश, बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । साथै, अत्यावश्यक कामबाहेक रातिको समयमा यात्रा नगर्न तथा जोखिमयुक्त जिल्लामा रातिको सवारी आवागमन रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । साथै, जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न तथा पूर्वसूचनाका आधारमा जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र खोला किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन आग्रह गरेको छ । साथै, विपद्सम्बन्धी सूचना तथा आपत्कालीन सहयोगका लागि सम्बन्धित निकायका हटलाइन सेवाको उपयोग गर्न र जल तथा मौसम विज्ञान विभाग तथा प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान तथा चेतावनी नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।
