रौतहट । वर्षायाम सुरु भएसँगै रौतहटको बागमती नदी किनारका बस्तीमा फेरि बाढीको त्रास बढेको छ । विशेषगरी राजदेवी नगरपालिका–स्थित ब्रह्मपुरीसहित आसपासका गाउँका स्थानीय जीर्ण बाँधका कारण हरेक वर्ष असुरक्षित महसुस गर्दै आएका छन् ।
दशकौँअघि निर्माण गरिएको बाँध मर्मतसम्भारको अभावमा कमजोर बन्दै गएपछि स्थानीयवासी बाढीको जोखिम झन् बढेको बताउँछन् ।
राजदेवी नगरपालिका–ब्रह्मपुरीकी करिब ६५ वर्षीया जगमती देवी बैठा बागमती नदी किनारको बाँधमा उभिँदै नदीको बढ्दो जलस्तर नियालिरहेकी थिइन् । उनले विगतका बाढीले दिएको पीडा अझै ताजा रहेको सुनाइन् ।
“यहाँ जति पानी बढ्छ, हामी त्यत्ति नै आत्तिन्छौँ। तीन वर्षअघि आएको बाढीले गाउँ नै बेहाल बनाइदियो । धानबाली, घरमा रहेको अन्नपात र आवश्यक सामान सबै बगाएर लग्यो,” उनले भनिन् ।
२०५० सालको विनाशकारी बाढी सम्झँदै उनले त्यसबेला रातभर घरको छानामाथि बसेर ज्यान जोगाएको अनुभव सुनाइन् । अहिले पनि वर्षा सुरु भएसँगै फेरि घरविहीन हुनुपर्ने हो कि भन्ने चिन्ताले सताइरहने उनको भनाइ छ ।
उनीजस्तै स्थानीय रामदत्त दास पनि वर्षायाम लागेसँगै बाढीको त्रासमा छन्। २०५० सालको बाढीमा ब्रह्मपुरी गाउँमा तीन जनाको मृत्यु भएको स्मरण गर्दै उनले त्यसबेला कैयौँ परिवार विस्थापित भएको बताए ।
“सरकारले बाँध त बनायो, तर अहिले यसको अवस्था निकै कमजोर छ। ठूला वर्षा भए बाँधले धान्ला भन्ने विश्वास छैन,” उनले भने ।
उनका अनुसार २०५० सालमा आएको बाढीमा आफूले रातभर रुखमा बसेर ज्यान जोगाएका थिए । अहिले पनि प्रत्येक दिन ठूलो वर्षा नहोस् भनेर भगवानसँग प्रार्थना गर्ने गरेको उनले सुनाए ।
.jpg)
जीर्ण बाँधले बढायो जोखिम
स्थानीयका अनुसार करिब तीन दशकअघि निर्माण गरिएको बाँधको धेरै भाग अहिले जीर्ण भइसकेको छ । मर्मतसम्भार नहुँदा विभिन्न स्थानमा कटान भएको छ भने कतिपय ठाउँमा चिरा समेत देखिएको छ ।
स्थानीय रामनरेश सिंहका अनुसार नदीले कटान गरेका केही स्थानमा ढुंगा–गिट्टीसहित तारजाली लगाएर संरक्षण गरिए पनि मुख्य बाँधको संरचना कमजोर भएकाले जोखिम अझै कायम छ ।
“देशमा संघ, प्रदेश र स्थानीय सरकार छन् । तर बाढी प्रभावित क्षेत्रका नागरिकको सुरक्षामा कुनै सरकारले पर्याप्त ध्यान दिएको अनुभूति भएको छैन,” उनले गुनासो गरे ।
स्थानीयले प्रारम्भिक चरणमा बाँध निर्माण गर्दा गुणस्तरीय निर्माण सामग्रीको पर्याप्त प्रयोग नभएको दाबी गरेका छन्। उनीहरूका अनुसार बाँधको केही भाग चीन सरकार र केही भाग भारत सरकारको सहयोगमा निर्माण गरिएको थियो ।
.jpg)
धेरै गाउँ उच्च जोखिममा
बागमती नदीमा ठूलो बहाव आए राजदेवी नगरपालिकाका ब्रह्मपुरी, चण्डिहासबतपुर, पताही, माठकटरवन, सेढवा, मोहनपुर, बलरालगायतका बस्ती प्रभावित हुने गरेका छन् । आकाशमा कालो बादल मडारिनासाथ स्थानीय रातभर जाग्राम बस्न बाध्य हुने अवस्था रहेको उनीहरू बताउँछन् ।
७० वर्ष नाघेका स्थानीय जगदीस दास भन्छन्, “पानी पर्न थालेपछि हामी रातभर सुत्न सक्दैनौँ ।”
स्थानीयले भारतीय क्षेत्रमा बलियो तटबन्ध निर्माण र नियमित मर्मत हुने गरेको उल्लेख गर्दै नेपालतर्फ भने पर्याप्त ध्यान नदिइएको गुनासो गरेका छन् । उनीहरूका अनुसार भारततर्फको बाँधको उचाइ नेपालतर्फको तुलनामा धेरै अग्लो बनिसकेको छ ।
.jpg)
नगरपालिकाको चिन्ता, केन्द्रको बेवास्ता
राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारीराय यादवले बागमती किनारका बाँध अत्यन्त पुराना भइसकेको भन्दै समयमै मर्मत तथा सुदृढीकरण आवश्यक रहेको बताए ।
उनका अनुसार बाँधको अवस्थाबारे केन्द्र सरकारदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई पटक–पटक जानकारी गराइए पनि प्रभावकारी सुनुवाइ हुन सकेको छैन ।
“बाँधकै कारण कुनै अप्रिय घटना नहोस् भनेर सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ। तर आवश्यक पहल भएको छैन,” उनले भने ।
नगरपालिकाले सम्भावित विपद् व्यवस्थापनका लागि बोरामा बालुवा भर्ने, पानीको बहाव नियन्त्रण गर्ने तथा आवश्यक परे तत्काल परिचालन गर्न जेसीबी तयारी अवस्थामा राखिएको जनाएको छ ।
.jpg)
पूर्वसूचना प्रणालीसमेत छैन
स्थानीयवासीले बाँधको उचाइ बढाउने, तारजालीसहित स्थायी तटबन्ध निर्माण गर्ने, नदीको बहाव परिवर्तन हुने स्थानमा विशेष निगरानी बढाउने तथा भारतमा जस्तै नियमित मर्मत र सुदृढीकरण गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूका अनुसार नदीमा पानीको सतह बढेर गाउँमा पस्ने अवस्था आउँदा समयमै सूचना दिने कुनै प्रभावकारी पूर्वसूचना प्रणालीसमेत छैन । एक दशकअघि वितरण गरिएका माइक, टर्च, त्रिपाललगायतका सामग्री अहिले प्रयोगविहीन भएको स्थानीयको गुनासो छ ।
स्थानीयको भनाइमा, जीर्ण बाँधको समयमै मर्मत र दीर्घकालीन संरक्षण नगरे आगामी वर्षायाममा ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने जोखिम अझै कायम छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)