बकैया खोलाको बाढी आफ्नो वडाको बस्तीमा पस्ने जोखिम बढेपछि निजगढ नगरपालिका–९ का वडाध्यक्ष रामचन्द्र कटुवाल बिहान उज्यालो नहुँदै नदी नियन्त्रणको काम अनुगमन गर्न पुग्ने गरेका छन् ।
हिउँदमा सम्पन्न गर्नुपर्ने नदी नियन्त्रण तथा तटबन्ध निर्माणका काम वर्षायाममै गर्नुपर्ने बाध्यता आएपछि अपेक्षित परिणाम नआउने भए पनि तत्काल बाढीको जोखिम घटाउन कटुवाल बिहानदेखि साँझसम्म बकैया खोलामै खटिएका छन् ।
वडा कार्यालयका अत्यावश्यक कामबाहेक चर्को घाम वा वर्षाको पर्वाह नगरी उनी केही दिनयता च्यानलाइजिङ भइरहेको क्षेत्रमा पुगेर एक्साभेटर र टिपरबाट भइरहेको कामको निगरानी गरिरहेका छन् । काम प्रभावकारी र छिटो सम्पन्न होस् भन्ने उद्देश्यले आफू निरन्तर सक्रिय रहेको उनले बताए । गत वर्ष बकैया खोलाले वडा क्षेत्रमा गरेको कटान नियन्त्रण नगरेसम्म नगरसभा हुन नदिने अडान लिएका कटुवालकै पहलमा पछि आर्यघाट संरक्षणका लागि तारजालीयुक्त स्पर निर्माण गरिएको थियो । उक्त संरचनाले आर्यघाट, आसपासका बस्ती तथा केही क्रसर उद्योगलाई तत्कालीन जोखिमबाट जोगाएको थियो ।
अहिले स्थानीय क्रसर उद्योगको सहयोगमा नदी नियन्त्रणको काम भइरहेको छ । खोलाले क्रसर उद्योग र शहीद हीरालाल रङ्गशालाबीचको क्षेत्रमा दुई मिटरभन्दा बढी गहिरो कटान गरिसकेको वडाध्यक्ष कटुवालले जानकारी दिए । “अहिले रोकथाम नगरे बाढी बस्तीमा पस्न बेर लाग्दैन । दिनमा चैन छैन, राति पनि राम्रोसँग निद्रा लाग्दैन,” उनले भने । नदी नियन्त्रणका लागि आवश्यक इन्धन व्यवस्थापन नगरपालिकाले गरिरहेको छ भने निजगढका क्रसर उद्योगहरूले संयुक्त रूपमा ६ लाख रुपैयाँ सहयोग गरेका छन् ।
गत वर्ष नदी नियन्त्रणकै क्रममा आएको बाढीले एउटा एक्साभेटर पुरिएको र त्यसमा रहेका अपरेटर तथा कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढको टोलीले उद्धार गरेको घटना पनि उनले स्मरण गरे । “यदि एक सातासम्म ठूलो बाढी आएन भने अस्थायी रूपमा भए पनि जोखिम टार्न सकिन्छ भन्ने आशामा काम गरिरहेका छौं । वर्षायाममा पानी र बाढीको भर हुँदैन। हिउँदमै तटबन्ध निर्माण गर्नुपर्ने भए पनि विभिन्न कारणले सम्भव भएन,” उनले बताए ।
अव्यवस्थित उत्खननले बढायो जोखिम
विगतमा खोला ठेक्काका नाममा मापदण्डविपरीत गरिएको अत्यधिक उत्खननका कारण बकैया पुल संरक्षणका लागि करिब पाँच दशकअघि तत्कालीन सोभियत सङ्घ (रूस) सरकारको सहयोगमा निर्माण गरिएको पक्की ड्याम पूर्ण रूपमा भत्किएको छ ।
ड्याम भत्किएपछि गत वर्षदेखि तारजालीमा ढुङ्गा भरेर अस्थायी तटबन्ध निर्माण गरिएको थियो । बकैया खोला पर्ने स्थानीय तहहरूले समयमै प्रभावकारी अनुगमन र नियमन नगर्दा नदीको प्राकृतिक स्वरूप बिग्रँदै गएको र पुल, ड्याम तथा तटबन्ध जोखिममा परेको स्थानीयको भनाइ छ ।
गत वर्ष प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनका लागि आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष कटुवालले खोला उत्खननमा एक्साभेटर प्रयोग नगर्न सुझाव दिएका थिए । उनले सकेसम्म स्थानीय मजदुर परिचालन गरी घरेलु औजार प्रयोग गर्नुपर्ने र एक्साभेटर प्रयोग गर्नैपरे उत्खनन गरिएको सामग्रीको वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए ।
उनका अनुसार खोला ठेक्काबाट वार्षिक ८ देखि १० करोड रुपैयाँ आम्दानी हुने भए पनि त्यसको कम्तीमा ३० देखि ५० प्रतिशत रकम दीर्घकालीन तटबन्ध निर्माणमा खर्च गर्न आवश्यक छ । “मानवबस्ती र खेतीयोग्य जमिन नै नरहे राजनीति र सामाजिक सेवाको अर्थ रहँदैन । त्यसैले सबैभन्दा पहिले संरक्षणमा ध्यान दिनुपर्छ,” उनले भने ।
विपद् न्यूनीकरणका लागि संयुक्त पहल
केही दिनअघि जिल्ला विपद् व्यवस्थापन समिति बाराका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्रकुमार साह, सुरक्षा निकायका प्रमुख, निजगढ नगरप्रमुख सुरथ पुरी तथा प्राविधिकसहितको टोलीले बाढी जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
टोलीको अध्ययनपछि नदी नियन्त्रणको कामलाई तीव्रता दिइएको हो । हिउँदमा सामान्य देखिने बकैया खोला वर्षायाममा भने उर्लिएर समुद्रझैं फैलिने गर्छ । असारदेखि असोजसम्म आउने बाढीले निजगढ क्षेत्रलाई प्रत्येक वर्ष जोखिममा पार्दै आएको छ ।
जानकारहरूका अनुसार बकैया खोला निजगढ नगरपालिकाको सबैभन्दा जोखिमपूर्ण नदीमध्ये एक हो । स्थानीयले दीर्घकालीन योजना बनाएर नदी नियन्त्रण गर्नुपर्ने र वर्षायाममा गरिने हतारका कामले मात्र समस्या समाधान नहुने बताएका छन्