थाइल्यान्डबाट नेपाल हुँदै भारत लैजान लागिएको साढे पाँच किलो गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले बुधबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट भारतका दुई नागरिकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश लुधियानाका ४३ वर्षीय रिंकु मेहेन र उत्तर प्रदेश जोयाका ३२ वर्षीय मोहम्मद हसनैन रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार नयाँ बसपार्क क्षेत्र लागुऔषध कारोबारको उच्च जोखिमयुक्त क्षेत्र भएकाले निगरानीका क्रममा सुटकेस बोकेर उभिरहेका उनीहरूमाथि शंका लागेको थियो। त्यसपछि प्रहरीले खानतलासी गर्दा रिंकु मेहेनले बोकेको सुटकेसभित्रबाट पाँच किलो गाँजा बरामद भएको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर गरिएको सोधपुछका क्रममा उनीहरूसहित तीन जना थाइल्यान्डबाट आएको गाँजा लिन भारतको लुधियानाबाट यूपी ३८ एपी १९७५ नम्बरको गाडीमा काठमाडौं आएको खुलेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए ।
प्रहरीले अनुसन्धानका क्रममा उक्त गाडी धादिङको धुनिबेँशी नगरपालिका–९ कानाकोट क्षेत्रमा बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ । गाडीबाट थप ५०० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा थाइल्यान्डबाट गाँजा पठाउने कार्यमा सहुलत खान र फरार रहेका उनका दाजु साहादत खानको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गाडी यसअघि पनि दुई पटक नेपाल आएर थाइल्यान्डबाट आएको गाँजा भारत पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।