मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)को दुग्धजन्य सामग्री बिक्री स्टल सञ्चालन गरिने भएको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन तथा गुणस्तरीय दुग्धजन्य सामग्री सर्वसाधारणसम्म सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्टल सञ्चालनको तयारी थालिएको हो । दुग्ध विकास आयोजना ढल्केवर शाखाका प्रमुख दिनेश जोशीका अनुसार स्टल सञ्चालनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आवश्यक छलफल सम्पन्न भइसकेको छ । आगामी एक सातादेखि १० दिनभित्र स्टल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
जोशीका अनुसार मुख्यमन्त्री कार्यालय परिसरमा विभिन्न मन्त्रालय रहेकाले त्यहाँ दैनिक एक हजारभन्दा बढी कर्मचारी तथा सेवाग्राहीको आवतजावत हुने गर्छ । उनले भने, "स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नुका साथै गुणस्तरीय र स्वास्थ्यकर दुग्धजन्य सामग्री उपभोक्तासम्म सहज रूपमा पुर्याउने उद्देश्यले यहाँ स्टल सञ्चालन गर्न लागिएको हो।"
स्टलबाट डीडीसीद्वारा उत्पादित दही, रसभरी, बटर, पनिर, घ्यु, मोही तथा विभिन्न फ्लेभरका आइसक्रिम बिक्री गरिने आयोजनाले जनाएको छ । केही समयअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत डीडीसीको चिज प्रयोग गरिरहेको तस्बिर सार्वजनिक गरेपछि डीडीसीका उत्पादनको बिक्री उल्लेखनीय रूपमा बढेको थियो ।
जनकपुर चुरोट कारखाना परिसरभित्र हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् । मधेश प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साहले स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रोत्साहनका लागि मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको स्टल सञ्चालन गर्न लागिएको बताए । उनले डीडीसी सरकारी संस्थान भएकाले यसको उत्पादन गुणस्तरीय, स्वास्थ्यकर र उपभोक्तामैत्री रहेको उल्लेख गरे ।
ढल्केवर शाखाका प्रमुख जोशीका अनुसार हाल सहकारी संस्था तथा व्यावसायिक फार्ममार्फत दैनिक दुई हजार २०० देखि दुई हजार ५०० लिटर दूध सङ्कलन भइरहेको छ ।