काठमाडौं । मधेशकेन्द्रित, पहिचानवादी तथा प्रगतिशील राजनीतिक शक्तिहरूलाई एकै मोर्चामा संगठित गर्ने उद्देश्यसहित आठ राजनीतिक दलले शनिबार संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा आबद्ध छन् ।
मोर्चा घोषणा कार्यक्रममा २८ बुँदे अवधारणापत्र पनि सार्वजनिक गरिएको छ । अवधारणापत्रमा समावेशी लोकतन्त्र, संघीय शासन प्रणाली, सामाजिक न्याय तथा उत्पीडित, सीमान्तकृत र पछाडि पारिएका समुदायको अधिकार संरक्षण र सशक्तीकरणलाई प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।
अवधारणापत्रअनुसार मोर्चाको नेतृत्व निश्चित अवधिका लागि रहने व्यवस्था गरिएको छ । निर्णय प्रक्रियामा सकेसम्म सर्वसम्मतिको अभ्यास गरिने र सर्वसम्मति हुन नसके लोकतान्त्रिक विधि तथा प्रक्रियाअनुसार निर्णय गरिने व्यवस्था गरिएको छ ।
मोर्चाले विभिन्न राजनीतिक शक्ति, दल र नेताबीच सहकार्य, समन्वय तथा साझा राजनीतिक अभियान सञ्चालन गर्दै मुलुकका समसामयिक राजनीतिक, सामाजिक र संवैधानिक चुनौतीहरूको सम्बोधन गर्ने लक्ष्य लिएको जनाएको छ ।
मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, पहिचान र अधिकारका मुद्दाको संरक्षण तथा समावेशी राज्य व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
हेर्नुहाेस् अवधारणा पत्र :
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)