राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले दुग्ध विकास संस्थान (डीडीसी) को बक्यौता घटेको विषयमा नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको अभिव्यक्तिको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वैदिकले डीडीसीको ७२ करोड रुपैयाँ बक्यौता घटेर ३५ करोड रुपैयाँमा झरेको विषयमा थापाले गरेको टिप्पणीबारे सरकारको स्पष्ट धारणा माग गरेका हुन् ।
उनले डीडीसीको बक्यौता घट्नु संस्थानको आम्दानीबाट भएको हो वा अर्थ मन्त्रालयले रकम उपलब्ध गराएका कारण भएको हो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
“प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले डीडीसीको ७२ करोडको बक्यौता ३५ करोडमा झर्यो भनेको कमाएर होइन, यो अर्थ मन्त्रालयले पैसा दिएर भएको हो भन्ने कुरामा के कति सत्यता छ ? नेपाल सरकारले स्पष्ट पारिदिन आग्रह गर्छु,” सांसद वैदिकले भने ।
डीडीसीको आर्थिक अवस्था, बक्यौता व्यवस्थापन तथा सरकारी सहयोगको विषय पछिल्लो समय राजनीतिक बहसको विषय बनेको छ । सांसद वैदिकले यस विषयमा तथ्यसहित सरकारको जवाफ आवश्यक रहेको बताएका छन् ।