मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव जलवायु परिवर्तनका कारण मधेशले भोग्दै आएका चुनौती तथा अनुकूलनका सम्भावनाबारे अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्न फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेका छन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ २५ गतेको निर्णयअनुसार मुख्यमन्त्री यादवसँगै कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव पनि मनिला गएका छन् । मनिलामा आगामी भदौ ३० र ३१ गते (सेप्टेम्बर १५ र १६) आयोजना हुने ‘थर्ड क्लाइमेट एडप्टेसन इन्भेस्टमेन्ट प्लानिङ फोरम–२०२६ (CAIPF2026)’ मा उनीहरू सहभागी हुनेछन् ।
गएराति थाइ एयरबाट मनिला प्रस्थान गरेका मुख्यमन्त्री यादव र निर्देशक यादवको भ्रमणबाट नेपाल सरकार तथा मधेश प्रदेश सरकारलाई थप आर्थिक दायित्व नपर्ने बताइएको छ। जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावबाट प्रभावित क्षेत्रमध्ये मधेश पनि प्रमुख हो। बर्सेनि हुने बाढी र डुबानसँगै पछिल्ला वर्षमा बढ्दो सुख्खा, कृषि उत्पादनमा देखिएको अस्थिरता, भूमिगत पानीको समस्या तथा अत्यधिक गर्मीले प्रदेशको अर्थतन्त्र र जनजीवनमा थप चुनौती सिर्जना गरिरहेको छ ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा मधेशका वास्तविक जलवायु जोखिम, अनुकूलनका प्राथमिकता तथा आवश्यक लगानीका विषय प्रस्तुत गर्नु मुख्यमन्त्रीको भ्रमणको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ । विशेषगरी जलवायुजन्य विपद् न्यूनीकरणसँगै कृषि, खानेपानी, सिँचाइ, पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र सहकार्य जुटाउन यस्ता फोरम उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्रशेखर कुमार यादवका अनुसार भ्रमणका क्रममा जलवायु परिवर्तनका कारण मधेशले भोगिरहेका बाढी, डुबान, सुख्खालगायतका जोखिम न्यूनीकरण, अनुकूलन तथा लगानीका अवसरबारे अन्तर्राष्ट्रियस्तरमा अनुभव आदान–प्रदान हुनेछ ।
उनले जलवायु अनुकूलनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानीमार्फत मधेशलाई थप सुरक्षित, दिगो र समृद्ध बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
जलवायु परिवर्तनलाई केवल विपद्को विषयका रूपमा नभई लगानी, पूर्वाधार विकास र कृषि रूपान्तरणसँग जोडेर अघि बढाउन सके मधेशले दीर्घकालीन लाभ लिन सक्ने देखिन्छ। तर, अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता जनाएपछि सम्मेलनबाट प्राप्त ज्ञान, सहकार्य र लगानीका सम्भावनालाई प्रदेशमा व्यवहारिक रूपमा कार्यान्वयन गर्नु सरकारसामु मुख्य चुनौती रहनेछ ।
भिडियाे रिपाेर्ट