त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट १०औँ दिनमा उद्धार गरिएका प्राविधिक सञ्जय साह गाउँ फर्किएपछि सप्तरीको तिलाठी कोइलाडीमा खुसीयाली छाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीपछि नौ दिनसम्म सम्पर्कविहीन भएका ३० वर्षीय साहलाई नेपाली सेनाले त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट १०औँ दिनमा उद्धार गरेको थियो । उद्धारपछि करिब आठ दिन अस्पतालमा उपचार गराएपछि उनी शुक्रबार साँझ आफ्नो गाउँ पुगेका हुन् ।
साह घर फर्किएपछि परिवार, आफन्त तथा स्थानीयवासीले केक काटेर र मिठाई बाँड्दै उनको स्वागत गरेका छन्। लामो समयसम्म छोराको अवस्था अज्ञात रहँदा भेटिने आशासमेत मर्दै गएको अवस्थामा उद्धार भएको खबर सामाजिक सञ्जालमार्फत थाहा पाउँदा भगवान्को चमत्कारजस्तो लागेको उनका बुबा रामफल साहले बताए । सञ्जयकी पत्नी लक्ष्मी साहले पनि श्रीमान् सकुशल फर्किएकोमा खुसी व्यक्त गर्दै उद्धारमा संलग्न सुरक्षाकर्मी तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । उनले श्रीमान्लाई आफूले भेटिने आशा लगभग गुमाइसकेको बताइन् ।
सुरुङभित्रको १० दिन निकै कठिन र भयावह रहेको सञ्जयले बताए। बाढी आउन लागेको जानकारी पाएपछि आफूहरू सावधान भए पनि बाहिर निस्किन पर्याप्त समय नपाएको उनले बताए । “बाढी आउने जानकारी पाएपछि हामी सावधान भएका थियौँ। साथीहरूलाई बाहिर निस्कन भनिरहेका थियौँ। आफैँ पनि बाहिर निस्किने प्रयास गरेँ, तर एक्कासि ठूलो छाल आएर सबैलाई छुट्यायो,” उनले भने ।
सुरुङभित्र अँध्यारोमा दिन र रात छुट्याउनसमेत कठिन भएको साहले बताए। केही दिन भेन्टिलेसनको क्षेत्रमा बसेर समय बिताएको र खानेकुरा नहुँदा माटो र मोबिल मिसिएको धमिलो पानी कपडामा छानेर पिउनुपरेको उनले सुनाए । “एक गेडा खानेकुरा थिएन। धमिलो पानी कपडामा छानेर सुकिरहेको घाँटी भिजाउनुको विकल्प थिएन । तर नडराई महामन्त्र जप गरेँ, त्यसपछि हिम्मत बढ्यो,” उनले भने ।
बाढीले सुरुङको स्वरूप नै परिवर्तन गरिदिएकाले बाटो पहिचान गर्नसमेत कठिन भएको उनको भनाइ छ । चारैतिर अँध्यारो भएपछि आफू मरेतुल्य अवस्थामा पुगेको महसुस भएको उनले बताए ।
उद्धारकर्मीले चलाएको मेसिनको आवाज सुनेपछि भने आफूमा पुनः बाँच्ने आशा जागेको साहले बताए । “उद्धारकर्मीले चलाएको मेसिनको आवाज सुनेपछि बाँच्ने आशा जाग्यो । सुरुङभित्र हरेक सेकेन्ड बाँच्नका लागि असम्भवजस्तै सङ्घर्ष गरेँ,” उनले भने ।
साह सकुशल गाउँ फर्किए पनि बाढीमा परेर अझै सम्पर्कविहीन रहेका आफ्ना साथीहरूको अवस्थाप्रति भने उनले दुःख व्यक्त गरेका छन् । उनले सुरुङमा बिताएका १० दिनलाई जीवनकै सबैभन्दा कठिन संघर्षका रूपमा स्मरण गरेका छन् ।
भिडियाे रिपाेर्ट