रौतहटको ग्रामीण भेग हुँदै तीन नेपाली किशोरीलाई भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
परिवारलाई जानकारी नदिई मकवानपुरका तीन जना किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले भारतको बिहारस्थित पूर्वीचम्पारण जिल्लाको कुण्डवा चैनपुरबाट २३ वर्षीय सलाउद्दीन अन्सारीलाई पक्राउ गरेको हो ।
वीरगञ्ज–रक्सौल र गौर सीमामा सुरक्षा निगरानी कडा रहेकाले ग्रामीण तथा वैकल्पिक बाटो प्रयोग गरी किशोरीहरूलाई भारततर्फ लैजान खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेका अन्सारीले किशोरीलाई प्रलोभनमा पारी भारत लैजान खोजेको आशंका गरिएको छ ।
उद्धार गरिएका तीनै जना मकवानपुर राईगाउँका हुन् । उनीहरूमा १५ वर्षीया ज्योशा राई, १६ वर्षीया नवीना परियार र १७ वर्षीया मनीषा विष्ट रहेका छन् ।
प्रहरीका अनुसार अन्सारीको साथबाट एउटा इलेक्ट्रिक स्कुटर, पाँच थान मोबाइल, आधार कार्ड, प्यान कार्ड, नेपाली रुपैयाँ ५१० र भारतीय रुपैयाँ ५२० बरामद भएको छ ।
पक्राउ परेका अन्सारी पूर्वीचम्पारणको ढाका थाना क्षेत्रअन्तर्गत हारूनी गाउँका बासिन्दा रहेका प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
मोतीहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले अदालतबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उद्धार गरिएका किशोरीलाई नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइने बताएका छन् । आरोपीमाथि कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ ।
रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले पनि घटनाको पुष्टि गर्दै भारतीय प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको बताए । भारततर्फको कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई अभिभावकको जिम्मा लगाइने उनले जानकारी दिएका छन् ।