०१. मधेशका कर्मचारीलाई वर्षमा ७ दिनसम्म पर्यटन काज, बिलबिनै तलब स्केल बराबर रकम
मधेश प्रदेश सरकारले कर्मचारीलाई देशका पर्यटकीय गन्तव्य घुमाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आन्तरिक पर्यटन काज’ नीति ल्याएको छ। कार्यविधिअनुसार कर्मचारीले वर्षमा एकपटक ३ देखि ७ दिनसम्म पर्यटन काज लिन पाउनेछन्।
पर्यटन काजमा जाने कर्मचारीले आफ्नो सुरु तलब स्केल बराबरको रकम बिना बिल–भरपाई पाउनेछन्। तर कार्यरत जिल्ला, प्रदेश राजधानी र स्थायी बसोबास भएको जिल्लाबाहेक कम्तीमा दुई जिल्ला र तीन पर्यटकीय स्थल भ्रमण गर्नुपर्नेछ। भ्रमणपछि तस्वीरसहित प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था भए पनि होटल, यातायात र खानालगायत खर्चको बिल पेश गर्नुपर्ने छैन। बिलबिनै रकम उपलब्ध गराउने व्यवस्थाले सरकारी खर्चको पारदर्शिता र सम्भावित दुरुपयोगबारे प्रश्न उठाएको छ।
०२. धर्मेश्वर हस्पिटलमा दुई सुत्केरीको मृत्यु, छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रशासनको पत्र
सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर हस्पिटलमा प्रसूति गराएका दुई महिलाको मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ।
प्रशासनका अनुसार २८ वर्षीया निर्मला चौधरीको असोज ४ गते र २८ वर्षीया पुष्पा खड्गाको भदौ १६ गते उपचारका क्रममा मृत्यु भएको हो। दुवै महिलाको शल्यक्रियामार्फत प्रसूति गराइएको र अवस्था गम्भीर बनेपछि थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको थियो।
लगातार दुई सुत्केरीको मृत्यु भएपछि प्रशासनले अस्पतालको अनुमति, पूर्वाधार, विशेषज्ञ जनशक्ति र उपचार प्रक्रियालगायत विषयमा छानबिन गर्न मन्त्रालयलाई पत्राचार गरेको छ।
०३. पोखरीमा डुबेर बेपत्ता १५ वर्षीय बालक २० घण्टापछि मृत फेला
सर्लाहीको लालबन्दी नगरपालिका–१२ जियाजोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका १५ वर्षीय राजु ठाकुर २० घण्टापछि मृत फेला परेका छन्।
लालबन्दी–११ हीरापुरका देवेन्द्र ठाकुरका छोरा राजु आइतबार दिउँसो सवा ४ बजेदेखि पोखरीमा डुबेर बेपत्ता भएका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले सोमबार दिउँसो साढे १२ बजेतिर डुङ्गा र बाँसको सहायतामा उनको शव पानीबाट निकालेको हो।
०४. भ्रामक र धम्कीपूर्ण सामग्री पोस्ट गरेको आरोपमा सिरहामा ‘मनोज मानव’ पक्राउ
सामाजिक सञ्जालमार्फत भ्रामक तथा धम्कीपूर्ण सामग्री सार्वजनिक गरेको आरोपमा सिरहामा मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन्।
लहान–२४ का महतोले विभिन्न व्यक्ति तथा समुदायलाई लक्षित गरी आपत्तिजनक सामग्री पोस्ट गर्दै आएको प्रहरीले जनाएको छ। साइबर अपराध तथा सामाजिक शान्तिमा खलल पुर्याएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनलाई उदयपुरको चतरा पुलपारिको एक होटलबाट पक्राउ गरी सिरहा ल्याइएको हो।
प्रहरीका अनुसार उनीविरुद्ध साइबर अपराधसम्बन्धी आधा दर्जन मुद्दा दर्ता छन्।
०५. नक्कली नोट देखाएर १० लाख ठगी गर्न खोजेको आरोपमा दुई जना पक्राउ
नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक र चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खुबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिलाई १० लाख रुपैयाँ ल्याउन लगाई ३० लाख रुपैयाँ दिने भन्दै प्रलोभनमा पारेका थिए। त्यसपछि ३० लाख रुपैयाँ भन्दै नक्कली नोट दिएको प्रहरीको भनाइ छ।
०६. पहिलो सन्तान छोरी जन्मिएपछि धनुषामा कार सजाएर भव्य स्वागत
धनुषाका सुजित यादवको परिवारमा पहिलो सन्तानका रूपमा छोरी जन्मिएपछि खुसीको माहोल छाएको छ। नवजात छोरीलाई अस्पतालबाट घर ल्याउने क्रममा यादव परिवारले कारलाई फूल, बेलुनलगायत सामग्रीले सजाएर विशेष स्वागत गरेको हो।
सजाइएको कारमा ‘बेटी हुई है’ अर्थात् ‘छोरी जन्मिएकी छ’ भन्ने सन्देशसमेत राखिएको थियो। परिवारका सदस्य र आफन्तको सहभागितामा आमा तथा नवजात छोरीलाई घर भित्र्याइएको हो।
छोरी जन्मिएपछि दुःख होइन, खुसी मनाउनुपर्छ भन्ने सकारात्मक सन्देश दिन परिवारले यस्तो स्वागत गरेको जनाएको छ। छोरीलाई समान माया, शिक्षा, अवसर र सम्मान दिनुपर्ने सन्देश बोकेको यो घटना सामाजिक सञ्जालमा समेत चर्चामा छ।
०७. धनुषामा १८ लाखभन्दा बढीका अवैध चोरी–पैठारीका सामान बरामद
धनुषामा १८ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध चोरी–पैठारीका सामान बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषा, मातहतका सुरक्षा वेश तथा नेपाल प्रहरीको संयुक्त टोलीले सोमबार क्षिरेश्वरनाथ नगरपालिका–५, सिन्धुली टोलस्थित एक घरमा छापा मारी १८ लाख १६ हजार १२० रुपैयाँ बराबरका सामान बरामद गरेको हो।
बरामद सामानमा इलेक्ट्रिक सामग्री, पम्पकिन सिड, किराना सामान तथा सरकारले प्रतिबन्ध लगाएका विभिन्न प्रकारका पटाका रहेका छन्। बरामद सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
०८. जनकपुरधाममा चिकित्सकमाथि हातपातको आरोप, टिकटकर सुधिरासहित दुई जना पक्राउ
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम–८ का २६ वर्षीय सुधिरा मुखिया बिन र औरही–२ का २० वर्षीय विजय मुखिया रहेका छन्। सुधिरा सामाजिक सञ्जालमा टिकटकरका रूपमा समेत परिचित रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उपचारका लागि आएकी महिलाका आफन्त र ड्युटीमा रहेका चिकित्सक डा. सरोज साहबीच विवाद हुँदा हातपात भएको थियो। दुवै जनालाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
०९. पर्सामा ३३ किलो गाँजासहित तीन जना पक्राउ, नियन्त्रणमा लिन हवाई फायर
पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित मलाही टोलबाट प्रहरीले करिब ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
अवैध गाँजाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी टोली पुगेपछि कारोबारीलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले बताएका छन्।
पक्राउ पर्नेमा स्थानीय नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी रहेका छन्। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
१०. चाडपर्व नजिकिँदै वीरगंजमा बजार अनुगमन प्रभावकारी नभएको उपभोक्ताको गुनासो
दशैँ, तिहार र छठ नजिकिँदै गर्दा वीरगंजमा बजार अनुगमन प्रभावकारी नभएको भन्दै उपभोक्ताले गुनासो गरेका छन्।
चाडपर्वका कारण बजारमा किनमेल गर्नेको चाप बढे पनि मूल्यसूची नराख्ने, एउटै वस्तुको फरक–फरक मूल्य लिने तथा म्याद र गुणस्तरमा लापरबाही हुने गरेको उपभोक्ताको गुनासो छ।
उपभोक्ताले मुख्य बजारसँगै गल्ली तथा टोलका पसलसम्म नियमित अनुगमन गर्न माग गरेका छन्। खाद्य सामग्रीको गुणस्तर, मूल्य, नापतौल र म्याद जाँच गरी कमजोरी गर्नेमाथि कारबाही गर्नुपर्ने उनीहरूको माग छ।