काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको थियो ।
निरन्तर वर्षाका कारण बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट दुर्घटना तथा चोटपटकका घटना बढ्न सक्ने र जनस्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले स्वास्थ्य संस्थालाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न अनुरोध गरेको छ ।
त्यस्तै, बिरामीको स्थानान्तरण तथा रेफरल सेवालाई सहज र प्रभावकारी बनाउन तथा एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
आवश्यकता परेमा संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण तथा व्यवस्थापन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
प्रदेशस्तरमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत आवश्यक समन्वय र सहयोग उपलब्ध हुने जनाइएको छ ।
थप जानकारी तथा सहयोगका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको निःशुल्क हेल्पलाइनमा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
