मधेस प्रदेशमा दुई महिनामै ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु
मधेस प्रदेशमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन्।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार साउन र भदौमा भएका विपद्का घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५१० परिवार प्रभावित भएका छन्। मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २६ बालबालिका छन्।
प्रहरीका अनुसार सबैभन्दा बढी करेन्ट लागेर ३९ जना र पानीमा डुबेर २९ जनाको मृत्यु भएको छ। यस अवधिमा आगलागीका ११२, करेन्ट लागेका १०७ तथा पानीमा डुबेका ३७ घटना भएका छन्।
विपद्का घटनाबाट २ करोड ९२ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको प्रहरीले जनाएको छ। उद्धार तथा व्यवस्थापनका लागि २ हजार ८६९ प्रहरी परिचालन गरिएको थियो।
मधेस स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. नवलकिशोर झा नियुक्त
स्वास्थ्य निर्देशनालय मधेस प्रदेशको निर्देशकमा डा. नवलकिशोर झा नियुक्त भएका छन्।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुखका रूपमा कार्यरत डा. झाको पदोन्नतिसँगै उनलाई स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको हो।
स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय डा. झाले सर्लाहीमा स्वास्थ्य सेवा व्यवस्थापन तथा सेवा प्रवाहको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब निर्देशनालयको नेतृत्व गर्दै उनले प्रदेशभरका स्वास्थ्य कार्यक्रमको समन्वय, अनुगमन तथा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएका छन्।
जितिया पर्वको निराहार व्रत समापन
सन्तानको दीर्घायु, सुस्वास्थ्य तथा पारिवारिक सुख–शान्तिको कामनासहित मनाइने जितिया पर्वको निराहार व्रत समापन भएको छ।
तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइने पर्वमा महिलाले शुक्रबार राति ‘ओगटन’ खाएर व्रत सुरु गरेका थिए। शनिबार दिनभर पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आइतबार बिहान नुहाइधुवाइ गरी विधिपूर्वक फलाहार तथा अन्न ग्रहण गर्दै व्रत समापन गरेका हुन्।
पर्सामा घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरीमाथि अनुसन्धान
पर्सामा लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरीमाथि अनुसन्धान सुरु भएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्सपेक्टर समुन्नत अधिकारी, हवल्दार दीपक राउत र प्रहरी जवान पपु पण्डितलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो।
प्रहरीका अनुसार फरार बाबु–छोरालाई पक्राउ गरी रकम लिएर छाडिएको सूचना प्राप्त भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा तीनै जनाको संलग्नता देखिएको र घुसबापत लिएको भनिएको रकमसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले बताएका छन्।
घटनाको छानबिनका लागि प्रहरी नायब उपरीक्षक राजु कार्कीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको छ।
बाराका ६ जना चकलेटसहित भारतीय एसएसबीको नियन्त्रणमा
भारतबाट नेपालतर्फ अवैध रूपमा चकलेट ल्याउँदै गरेको आरोपमा बाराका ६ जना नेपाली नागरिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) को नियन्त्रणमा परेका छन्।
नायकटोला सीमा क्षेत्रमा एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
एसएसबीका अनुसार ६ वटा साइकलमा २४ बोरा चकलेट लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई रोकिएको थियो। बरामद चकलेटको तौल करिब ९६० किलो रहेको जनाइएको छ।
पक्राउ पर्ने सबै कलैया उपमहानगरपालिका–मटिअर्वाका बासिन्दा रहेको एसएसबीले जनाएको छ।
सर्लाहीमा ३०–३५ वर्षको पोथी हात्ती मृत फेला
बागमती नगरपालिका–४ स्थित बरम बाबा सामुदायिक वन नजिकैको परबर खेतमा वयस्क पोथी हात्ती मृत अवस्थामा फेला परेको छ।
आज बिहान करिब ३० देखि ३५ वर्षको हात्ती मृत अवस्थामा फेला परेको हो। खेतमा परबर टिप्न पुगेका स्थानीयले हात्ती मृत देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए।
स्थानीयका अनुसार अघिल्लो रात सो क्षेत्रमा हात्ती कराएको आवाजसमेत सुनिएको थियो। सवडिभिजन वन कार्यालय मुर्तियाका अनुसार हात्तीको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित
जनमत पार्टीको अध्यक्षमा पुनः डा. सीके राउत निर्वाचित भएका छन्।
वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान रहेकाले मतदान भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै, महासचिवमा सञ्जयकुमार यादव ६१८ मतसहित निर्वाचित भएका छन् भने उपमहासचिवमा निर्मलकुमार मण्डल विजयी भएका छन्। सात जना उपाध्यक्षसमेत निर्वाचित भएका छन्।