सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ जोगिनियाँबाट हराएका दुई बालिकालाई प्रहरीले भारतको नयाँ दिल्लीबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।
हराएका १६ वर्षीया अनिसा कुमारी यादव र सोही उमेरकी बबिता कुमारी गोठियालाई प्रहरीले आइतबार साँझ आवश्यक प्रक्रिया पूरा गरी अभिभावकको जिम्मा लगाएको हो ।
परिवारजनले दुवै बालिका हराएको भन्दै गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोजतलासका लागि निवेदन दिएका थिए। निवेदन प्राप्त भएपछि प्रहरीले खोजी अघि बढाएको थियो ।
खोजीका क्रममा दुवै बालिका नयाँ दिल्लीमा रहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरेको थियो। संस्थाका निर्देशक नवीन जोशीको सहयोगमा दुवै बालिकालाई सकुशल नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
प्रहरी कार्यालयमा ल्याइएपछि परिवारजनलाई बोलाएर आवश्यक प्रक्रिया पूरा गरी दुवै बालिकालाई अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।