रौतहट । प्रहरीले रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ ।
भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका गरी ४२ जनालाई प्रहरीले उद्धार गरी आज भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार कामदारलाई भारत फर्काउन आवश्यक समन्वय गरी सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायको जिम्मा लगाइएको हो ।
इँटाभट्टा सञ्चालक मोहम्मद मुजामिलका अनुसार कामदारको रासन तथा अन्य खर्च व्यवस्थापन गर्ने भन्दै चार दिनअघि भारतीय ठेकेदार मोहम्मद नासिरले आफूसँग भारु ६ लाख लिएर गएपछि सम्पर्कविहीन भएका थिए। ठेकेदार सम्पर्कविहीन भएपछि कामदारहरू इँटाभट्टामै अलपत्र परेका थिए ।
उनीहरूलाई आगामी असारसम्म इँटाभट्टामा काम गर्ने गरी भारतको उत्तर प्रदेशस्थित मुरादाबादबाट आश्रित परिवारसहित ल्याइएको थियो । ठेकेदार एक्कासि सम्पर्कविहीन भएपछि इँटाभट्टा सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरी नायब उपरीक्षक गौतमले कामदारलाई बाहिरबाट ल्याएर अलपत्र पार्ने भारतीय ठेकेदारको खोजी भइरहेको बताए। घटनाबारे थप अनुसन्धानसमेत जारी रहेको प्रहरीले जनाएको छ ।