रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय मजदुर तथा उनीहरूका परिवारका सदस्यलाई प्रहरीले उद्धार गरी स्वदेश फर्काएको छ ।
मह्मद मुजामिलले सञ्चालन गरेको इँटाभट्टामा काम गर्न भारतीय ठेकेदारमार्फत नेपाल आएका मजदुरहरू ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र परेका थिए। उनीहरू अलपत्र परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार उद्धार गरिएकामा १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका रहेका छन् । हरिनगर गाउँबाट करिब ५ किलोमिटर पूर्व–दक्षिणमा रहेको इँटाभट्टाबाट उनीहरूको उद्धार गरिएको हो ।
उद्धारपछि सबैलाई बसमार्फत गौर भन्सार पुर्याइएको थियो। भन्सार सुरक्षा गार्डको समन्वयमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)को बर्गेनिया क्षेत्रका अधिकारीहरूको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी वसन्त गौतमले जानकारी दिए ।
प्रहरीका अनुसार मजदुरहरूलाई इँटाभट्टामा अलपत्र छाडेर सम्पर्कविहीन भएका भारतीय ठेकेदारको खोजी भइरहेको छ ।